औजारसहित निर्माण व्यवसायीहरूद्वारा बालुवाटारमा प्रदर्शन

काठमाडौं । सरकारले भुक्तानी नदिएर हैरान बनाएपछि तनाबमा परेका निर्माण व्यवसायीहरूले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् ।

मंगलबार बिहान निर्माण व्यवसायी महासंघका पदाधिकारी र सदस्यहरूले निर्माण यन्त्र र औजारसहित प्रदर्शन गरेका हुन् ।
सरकारको ध्यानाकर्षण गर्नको लागि बालुवाटारमा धर्ना दिइएको व्यवसायीहरूले बताएका छन् ।

निर्माण व्यवसायीहरूले केही दिनदेखि निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् ।

प्रदर्शनमा व्यवसायीहरूले बीमा निर्देशिका २०७८ खारेज गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने लगायतका माग राखेका छन् ।

व्यवसायीहरूले विभिन्न नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

सरकारले निर्माण व्यवसायीहरूलाई निर्माण सम्पन्न भएका आयोजनाहरूको समेत भुक्तानी दिएको छैन । भुक्तानी नपाउँदा व्यवसायीहरू कालोसूचीमा पर्नेदेखि ऋणको रकम समयमा तिर्न नसकेर तनाबमा परेका छन् ।

Published : Tuesday, 2023 August 1, 10:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया