लुम्बिनी प्रदेशको आफ्नै प्रयोगशाला, मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा शुरुवात

बुटवल । रुपन्देहीको बुटवलमा नवनिर्मित लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला भवनको सोमबार उद्घाटन गरिएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भवनको उद्घाटन गरेका छन् ।

ग्लोवल फण्ड र सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित प्रयोगशाला भवन सोमबार नै स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

८ करोड ७० लाख २० हजार रुपियाँको लागतमा भवन निर्माण सम्पन्न भएको छ ।

मुख्यमन्त्री चौधरीले प्रदेशको केन्द्रीय प्रयोगशालाको रुपमा विकास गर्नुपर्ने बताएका छन् । उनले आधुनिक उपकरण र दक्ष जनशक्ति राखेर नागरिकको विश्वास जित्ने गरि काम गर्न प्रयोगशालालाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री चौधरीले प्रदेशको रिसोर्स सेन्टरको रुपमा प्रयोगशलालाई विकास गर्न आग्रह गरेका छन् ।

स्वास्थ्यमन्त्री खनालले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई गुण नियन्त्रण प्रयोगशालाको रुपमा विकास गरिने बताएका छन् ।

खनालले प्रदेशमा रहेका सरकारी तथा निजी प्रयोगशालाहरूलाई सँगठित र सञ्जालीकरण गरि अनुगमन तथा गुणस्तर नियन्त्रणको केन्द्रको रुपमा विकास गरिने बताएका छन् ।

स्वास्थ्यमन्त्री खनालले स्तरीय प्रयोगशालाको अभावमा गाउँबाट शहर र शहरबाट अन्य प्रदेशमा बारम्बार धाइरहनुपर्ने बाध्यतालाई चिर्न नवनिर्मित प्रयोगशाला भवनलाई एकीकृत र सहज परीक्षण केन्द्रको रुपमा विकास गर्न प्रदेश सरकार तत्पर रहेको बताएका छन् ।

समग्र स्वास्थ्य प्रणालीको सुदृढीकरणका लागि पनि प्रदेश प्रयोगशालाको सञ्जाल कोशेढुंगा सावित हुने मन्त्री खनालले बताएका छन् ।

Published : Monday, 2023 July 31, 11:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया