स्थानीय तहहरूले आफ्ना अस्पताल प्रदेश मातहत लैजान आग्रह गरेको मन्त्री खनालको भनाइ

नेपालगञ्ज । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले दुर्गम क्षेत्रका नागरिकले आफ्नै जिल्लाबाट भरपर्दो उपचार सेवा पाउने अवस्था श्रृजना गर्न प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।

भेरी अस्पताल नेपालगञ्जको १३३औं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री खनालले दुर्गम क्षेत्रका अस्पतालबाट पनि विशेषज्ञ सेवा उपलब्ध गराउन मन्त्रालयले ती क्षेत्रमा जाने चिकित्सकलाई थप सुविधा दिने नीति लिएको बताए ।

चालु आर्थिक वर्षको बजेटमा रकम व्यवस्था गरिएको पनि उनले बताएका छन् । मन्त्री खनालले आर्थिक र प्राविधिक दृष्टिले नहेरेर कार्यक्रम घोषणा गर्ने प्रवृत्तिका कारण अहिले धेरै स्थानीय तहलाई १५ बेडको अस्पताल सञ्चालन गर्न निकै अप्ठ्यारो भएको गुनासो आफू समक्ष आउन थालेको बताएका छन् ।

प्रदेशभित्रका स्थानीय तहका प्रमुखहरूले आफूहरूको अस्पताल प्रदेश मातहत लगिदिन आग्रह गर्ने गरेको खनालले बताएका छन् ।

स्वास्थ्यमन्त्री खनालले आर्थिक, प्राविधिक योजनाविना सुरु गरिएका काम अहिले समस्या बनेको देखिएको बताएका छन् ।

उनले बीर अस्पतालसँगै स्थापना भएको भेरी अस्पताल संघीय सरकार मातहतमा भए पनि प्रदेश सरकारको समेत लगानी रहेको बताएका छन् ।

भेरी अस्पतालमा कोभिडपछि मात्रै प्रदेश सरकारले १० करोड रुपियाँभन्दा बढि लगानी गरिसकेको बताए ।

भेरी अस्पताललाई अहिले पनि प्रदेश सरकारले सिकलसेल एनिमिया रोगको हव अस्पतालका रुपमा राखेर लगानी गरिरहेको बताएका छन् ।

Published : Friday, 2023 July 28, 6:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया