गुट फेरेर फाइदा लिने गिरोहका नाइकेको मोहन बस्नेतद्वारा भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले गुटको नाममा अबसर लिएका गगन थापाको धज्जी उडाएका छन् ।

आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै बस्नेतले महामन्त्री थापाले गुटका नाममा धेरै अवसर लिनेमा रहेको बताए । उनले धेरै गुटमा डुलेर अबसर लिएपछि अहिले आएर कसैले पनि थापालाई विश्वास गर्न छाडेपछि विभिन्न फण्डा गरेको आरोप लगाए ।

उनले भने, ‘पार्टी विधि र विधानबाट चल्नुपर्छ भन्ने । विधि र विधान एकातिर लगेर आफ्नो महत्वकांक्षा जबरजस्ती सडकमा लगेर छ्यालफाल बनाउने । यहाँ जतिसुकै बुँदा उल्लेख गरेको भए पनि त्यसरी हिँड्दा पार्टी बलियो हुन्छ ?’

‘यो लाइभ गर्ने दृष्टीकोण राखियो म धन्यावाद दिन चाहन्छु । ककसले के के बोल्नुपर्ने हो थाहा हुनु प¥यो नि बाहिर’, उनले भने ।
‘यहाँ त भिड गरेर वा अल्पमतले बहुमतलाई सधैभरि शासन गर्ने कुरा उठ्न थाले । लोकतन्त्रमा यही हो त ? प्रजातन्त्रमा हामीले पढेका विधि र विधान यही हो त ? जसलाई जे मन लाग्यो त्यही गर्ने । त्यसले कांग्रेस कमजोर बनाउने काम निश्चित व्यक्तिहरुबाट भइरहेको छ’, उनले भने ।

‘बाहिर भए नभएको हल्लाखल्ला गरेर कांग्रेस फुट्छ, कांग्रेस यो हुन्छ, कांग्रेस उ हुन्छ, कांग्रेसभित्र माओवादी कांग्रेस को ? घण्टी कांग्रेस को ? हलो कांग्रेस को ? नेपाली कांग्रेस को ? यस्तो खालको कुरा बाहिर छरपस्ट भएको छ’, नेता बस्नेतले भने ।

‘कहिले पार्टी फुटाएर एउटा ग्रुप हिँड्छ रे भन्ने न्यूज आइरहेको छ । कहिले के भनिरहेको छ । कहिले कोसँग मिल्ने भनिरहेको छ । यो कुराको कसले शुरुवात गर्‍यो ? यो कुरा बढि महत्वकांक्षा राखेर जो हिँड्ने व्यक्तिहरु, जसले विधि र विधान मिचेर हिँड्न खोजेको छ, कुरा विधि र विधानको गर्ने परिवर्तनका कुरा गर्ने, अनि आफू केन्द्रित कुरा गर्ने’, उनले भने ।

‘यहाँ युवाको पनि कुरा उठेको छ । युवा हुनुपर्ने मै चाहिँ युवा हुनुपर्ने । मै भए हुने अर्को भए नहुने । यस्ता कुराहरु गुटगत रुपमा बाहिर आइरहेका छन् यो कुराले पार्टीलाई बलियो बनाएको छैन’, उनले भने ।

‘टिकट बाँड्ने बेलामा यसो भयो, उसो भयो भनिएको छ । अब गुटको अन्त्य गर्ने भनिएको छ । जसले गुटको अन्त्य गर्ने भनेर सबैभन्दा ठूलो नारा लगाएर हिँड्नुभएको छ । सबैभन्दा धेरै गुटमा फाइदा लिने उहाँहरु नै हो । कहिले कसको गुटमा गएर के पड्काएको छ । अर्को गुटमा गएर के पड्काएको छ । अब कुनै गुटले विश्वास नगर्ने भएपछि गुट चाहिँदैन भन्न थालेको छ । त्यो पनि हामीलाई सब थाहा छ’, नेता बस्नेतले भने ।

‘फाइदा लिने । गुटैगुटमा बनाएर फाइदा लिने । सबै गुटले नपत्याएपछि गुट चाहिँदैन भन्ने । अब कसैले विश्वासै गर्दैन त्यो मान्छेहरुलाई । गुट किन चाहियो ? त्यही हो कुरा । त्यसैले गुट र उपगुटका कुराको ब्याख्या पनि उहाँहरुले गरिरहनुभएको छ’, बस्नेतले भने ।

‘टिकट बाँड्ने बेलामा हुँदाहुँदा दाइ र भाउजुलाई बनाएपछि दाइभाउजुले टिकट बाँड्छन् भन्ने । मेरो जिल्लामा यो ठूलाठूला कुरा गर्नेहरुले स्थानीय चुनावमा सिधै अन्तर्घात गरेको देखियो । कारबाही गरेको मान्छेलाई उहाँहरुले प्रदेश समानुपातिक सांसदमा नाम सिफारिस गर्नुभएको छ’, उनले भने ।

‘मौका पाउँदा कसले छोड्नुभएको छ तपाईहरुले ? त्यसपछि आएर बहुमतको कुरा गर्नु हुन्छ तपाईहरुले । तपाईहरुले ठेलेको मान्छे मै हुँ । तपाईहरुले मेरो क्षेत्र अग्नि सापकोटा नलडेपछि अर्कोलाई दिनुपर्छ भन्ने जरुरी थियो ? तपाईहरु यो टिममा बसेका सबै टिकट बाँड्न बसेकाले मोहनबहादुर बस्नेतलाई हराउन हराउने सुरले अर्को क्षेत्रमा पठाएको हो । तर, तपाईहरुको दुर्भाग्य । लगभग १२ हजार मतको अन्तरले जिते । तपाईहरु होइन त्यो टिकट बाँड्ने ? तपाईहरुले एक शब्द उच्चारण गर्नुभएको छ ?’, उनले भने ।

‘सरकारको कुरा छ अहिले । आफू हुन पाएपछि ठीक हुने । मन्त्री हुन नपाएपछि सरकारले गरेको ठीक नहुने । कसले के गरेको हो हेर्नु पर्‍यो नि । आफ्नो कार्यकालमा पनि हेर्नु पर्‍यो नि ?’, उनले भने ।

‘गठबन्धनले यसो गर्‍यो । उसो गर्‍यो याँ वाँ भन्या छ । मैले गठबन्धन गरेपछि स्थानीय तहको चुनावमा स्थानीय तहको सिफारसमा गठबन्धन नगरेर एक्लैले चुनाव जितेर आएको हो । हामीले वडा घर्‍याकघुरुक पारेका छौँ । सिङ्गल लड्दा । जिल्ला समन्वय एकलौटी बनाएका छौँ । पालिकाहरु जिताएका छौँ । गठबन्धन नगरेको भए को को चुनाव जित्थे होला, को को हार्थे होला ? गफ दिएर हुन्छ । आवश्यक्ता थियो देशको गर्‍यो । गठबन्धन नगरेको भए गठबन्ध गर्नै सकिएन खत्तम पार्‍यो भनेर हिँजो केपी ओली र प्रचण्ड मिल्ला तपाईहरुले भन्नुभएको होइन ? यही होइन ठूलो कुरा गर्नेहरुले ? गठन्धन भएपछि गठबन्धन हुन्न, अर्को पटक गठबन्धन गर्नु हुन्न म पनि भनिरहेको छु । गठबन्धन नगरेर जित्ने तयारी गरौँ आआफै । गठबन्धनको विरोध गरेर गठबन्धनलाई बिच्काएर त्यसको के स्वार्थ छ ? यो गठबन्धन भत्काउने खेल हो यो । अहिलेको गठबन्धन भत्किएर भोलि केपी ओलीको नेतृत्वमा सरकार बन्यो भने के हुन्छ ? थोरै जिल्लामा मात्रै लडेका छौँ, भिडेका छौँ । काम गरेर बसेका छौँ । धेरै ठाउँमा अफ्ठ्यारो पारेका थिए । त्यस बेला को बोल्न सकेको थियो ? दाङमा भएको एउटा केटो थुनेर राखेको छ । कोही बोल्दैन’, उनले भनेका छन् ।

Published : Monday, 2023 July 24, 12:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया