तरुण दलद्वारा गृहमन्त्री श्रेष्ठको राजीनामा माग, सुन तस्करी काण्डमा संलग्नताको आरोप

काठमाडौं । नेपाल तरुण दलले डेढ सय किलो सुन तस्करी प्रकरणको छानविन र अनुसन्धानका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबाट राजीना दिनुपर्ने माग गरेको छ ।

भक्तपुरको कौशलटारमा ४१औँ वीपी स्मृति दिवसका अवसरमा शनिबार बिहान आयोजित वृक्षारोपण कार्यक्रममा तरुण दलका अध्यक्ष गुरुङले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन् । उनले गृहमन्त्रीले राजीनामा नदिँदासम्म तरुण दलले दवाव दिइरहने चेतावनी दिएका छन् ।

अध्यक्ष गुरुङले भने, ‘नारायणकाजीले राजीनामा नदिदासम्म तरुण दलले माग उठाउनेछ । गृहमन्त्रीको संलग्नताविना यति ठूलो परिणाम सुन भित्रिन सक्दैन । आन्दोलन पनि गर्नेछौँ ।’

‘गृहमन्त्री बाहेक अरु कसैले गर्न सक्दैन गृहमन्त्री पदबाट राजीनामा दिएर सुन काण्डमा छानविनमा सहयोग गर्नुपर्छ’, गुरुङले भनेका छन् ।

‘अन्तर्राष्ट्रिय विमानस्थलबाट एउटा सियो पनि छिर्न सक्दैन । नेपाली युवाहरू विदेशबाट आउँदै गर्दा एउटा मीठाइको पोको ल्याउन पाउँदैनन्’, उनले भने, ‘एउटा मोबाइल हातमा लिएर छिराउन सक्दैनौं । विश्वले नै थाहा पाउने गरी नेपालको यती ठूलो बदनाम भएको छ डेढ सय किलो सुन एयरपोर्टबाट बाहिरिदै गर्दा राजश्व अनुसन्धान विभागले बाटोमा पक्रदै गर्दा विश्वले नेपालको एयरपोर्टमा कस्तो सुरक्षा छ र कति भ्रष्ट छन् भन्ने कुराले बदनाम भएको छ ।’

उनले भने, ‘गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई म भन्न चाहन्छु । भुटानी शरणार्थी प्रकरण हाम्रो तरुण दलका पूर्वअध्यक्ष नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई विना प्रमाण छापमार शैलीमा अदालतको पुर्जीविना पक्राउ गरियो ।’

‘विभिन्न मिडियामा यसरी भ्रम सिर्जना गरियो कि २०४६ सालपछिको सबैभन्दा ठूलो, सबैभन्दा ठूलो भ्रष्टाचारको कारण हो भनेर लेखाइयो, जसरी समाजमा भ्रम सिर्जना गराइयो’, उनले भने ।

‘जुन डिजाइनमार्फत गरियो । उहाँलाई अदालतले भोलिका दिनमा दोषी वा निर्दोष भन्ने प्रक्रिया आफ्नो ठाउँमा छदैैछ’, उनले भने, ‘उहाँ निर्दोष हुनुहुन्छ भन्ने हामीलाई लागेको छ ।’

उनले भने, ‘भुटानी शरणार्थी प्रकरण केपी ओली प्रधानमन्त्री हुँदा र वामपन्थीहरूले सरकार चलाउादै गर्दा भुटानी शरणार्थीमा नेपालीहरू मिसाएर अमेरिकामा एक लाख पठाएको तथ्याङ्क हामीसँग छ ।’

‘केपी ओली प्रधानमन्त्री, रामबहादुर थापा गृहमन्त्री हुँदा ६ हजार ३ सय ५७ जना भुटानीहरूलाई ४ सय ५७ जना नेपालीहरूलाई गलत प्रक्रिया पूरा गरी निर्णय गर्नुभएको थियो’, अध्यक्ष गुरुङले भनेका छन् ।

‘विभिन्न तथ्यले के देखाउँछ भने रामबाहादुर थापा, केपी ओलीको स्वकीय सचिव पूर्णरुपमा संलग्न रहेको देखिन्छ । यो प्रकरणमा प्रहरीले उनीहरूलाई पक्राउ गरेर सोधपुछ गर्न सक्दैन’, उनले भने ।

तरुण दलका अध्यक्ष गुरुङले वीपी कोइराला आदर्श रहेको बताएका छन् । ‘कुनै समयमा नेपाललाई वीपीको देश भनेर नि चिनिन्थ्यो । किन कि संसारमा समाजवादी नेता’, उनले भने, ‘त्यस बेला संसारमा अनशन र समाजवादको व्याख्या गर्दै गर्दा वीपीले नै समाजवादलाई व्याख्या गर्न सक्ने नेताका रुपमा हुनुहुन्थ्यो ।’

उनले भने, ‘यो देशको उन्नति, लोकतन्त्रको लागि सारा जीवन जेलमा नेपाली समाजका लागि धेरै पुस्तकहरू लेख्नुभएको छ ।’

‘नेपाल तरुण दलको स्थापना, तरुण दलको बिचार प्रतिपादन उहाँले गर्नुभएको थियो’, उनले भनेका छन् ।

‘यो देशको परिवर्तन । यो देशमा भएका उपलब्धीहरू इतिहाँसलाई हेर्ने हो भने नेपाली कांग्रेसको अगुवाइमा बाहेक अरु कसैले गर्न सकेको छैन’, उनले भने, ‘यसलाई आम नेपालीमार्फत जनतालाई बुझाउन सकिरहेका छैनौँ ।’

उनले भने, ‘भरखरै मात्रै तरुण दलको केन्द्रीय समिति विस्तार गरेका छौं । हाम्रो शपथग्रहण बाँकी छ । तत्कालै हामीले बाँकी रहेका युवाहरूलाई सोसल मिडियामार्फत वीपीका कथाहरू, देशभक्तिका योगदानहरू हामी सोसल मिडियामार्फत घरघरमा सबैको मोबाइलमा दिनेछौँ ।’

‘हाम्रो पार्टी राम्रो छ । सिद्धान्त राम्रो छ । हाम्रो सबै कुरा राम्रो छ । हामीले हामीलाई राम्रो भन्न चाहिरहेका छैनौँ’, उनले भने, ‘अरु पार्टीका नेताभन्दा हाम्रै पार्टीका नेता राम्रा छन् । अरु पार्टीका नेताले भन्दा हाम्रै पार्टीका नेताहरूले त्याग र तपश्या गर्नुभएको छ ।’

उनले भने, ‘हामी कसको विरुद्धमा लेख्छौँ ? हामी कसको विरुद्धमा बोल्छौँ ? हाम्रै विरुद्धमा बोल्दै गर्दा, हाम्रै नेताको विरुद्धमा लेख्दै गर्दा केही कुरामा कमजोर भएका छौँ । हामी आफै दोषी छौँ ।’

तरुण दलले शनिबार ४१औँ वीपी स्मृति जयन्ती देशव्यापी रुपमा मनाएको छ । कार्यक्रममा नेपाल तरुण दलका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेत, कांग्रेसकी केन्द्रीय सदस्य मुक्ताकुमारी यादव, भक्तपुर कांग्रेसका सभापति तथा सांसद दुर्लभ थापा, भक्तपुर तरुण दलका अध्यक्ष राजु थापालगायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2023 July 22, 2:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया