कांग्रेसमा तपाई सबै नेताहरूको एक ठाउँमा एकता खोजी रहेका छन् : योगेन्द्र चौधरी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले नकारात्मक कुराको अन्त्य गरेर कांग्रेसका नेताहरूले सकारात्मक कुरा गर्नुपर्ने बताएका छन् ।
बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने क्रममा नेता चौधरीले नेताहरूका बीच कार्यकर्ताले एकता चाहेको बताए । उनले कांग्रेसले मुलुकमा धेरै राम्रा कामहरू गरेको बताए । त्यसको प्रचार आवश्यक रहेको बताएका छन् ।
उनले भने, ‘यसका निम्ति हामीले केही गल्ती गरेका छौँ । हामी सकारात्मक कुराको कहिल्यै पनि वकालत गरेनौँ । हामीले सधैँ एकले अर्कालाई टिकाटिप्पणी गर्यौँ । एउटा नेतालाई खसालेर पहिलो हुन सक्छु कि भन्ने सधैं यही खेलामा हामी सधैं लाग्यौँ ।’
‘यसको नकारात्मक प्रभाव आम मानिसमा पर्न गयो । आम कार्यकर्तामा पर्न गयो । आम जनताले, आम कार्यकर्ताले अहिले कांग्रेसलाई नियालेर हेरिरहेका छन्’, उनले भने, ‘तपाई सबै नेताहरूको एक ठाउँमा एकता खोजी रहेका छन् । सभापतिज्यू लगायत महामन्त्रीज्यू, शेखर दाइ लगायत तमाम आदिवासी जनजातीहरूलाई लिएर पाँच वटा क्षेत्रमा कमसेकम समावेशी अनुहार लिएर कार्यक्रम दिनुहोस् ।’
उनले भने, ‘त्यसले देशमा एउटा रक्तसञ्चार गर्नेछ । आम कांग्रेसले एउटा उर्जा भर्नेछ । यो मेरो टिम न उसको टिम भनेर विभाजित भएर हामी गयौँ भने यसले फेरि पनि कांग्रेसलाई उर्जा दिन सक्दैन भन्ने मेरो निष्कर्ष हो ।’
नेता चौधरीले भने, ‘हामीले समानुपातिक मत किन घट्यो भन्ने कुराको गम्भीर र यज्ञ प्रश्न हाम्रो सामु छ । हामी किन संस्थागत रुपमा दिन प्रतिदिन कमजोर भइरहेको अभास र त्यो महसुस र हाम्रा अभिव्यक्तिहरू पनि त्यहि दृष्टीकोणबाट व्यक्त भइरहेका छन् ।’
‘यो देशको सबैभन्दा पुरानो लोकतान्त्रिक दल । जसले जनताको लोकतान्त्रिक अधिकारको निम्ति निरन्तर लडीरह्यो’, उनले भने, ‘जनताको अभिव्यक्ति ल्याउने कुरा, लोकतन्त्र ल्याउने कुरा लगायत अनेक कुरामा फड्को मारेका छौँ । जनतालाई अधिकार सम्पन्न बनाएका छौँ ।’
‘तर पनि हामी किन जनतामाझ अलोकप्रिय भइरहेका छौँ ? त्यसको निर्मम समीक्षा हुन जरुरी छ । हामीले काम पनि गर्यौँ’, उनले भनेका छन् ।
‘सन् १९९० मा जब हामी पञ्चायती व्यवस्थाको अन्त्य गर्यौँ त्यस बेला मुलुकको अर्थतन्त्र प्रतिव्यक्ति आय १८५ डलर । आज सन् २०२२ सम्म आउँदा करीव करीव १३ सय डलरको हाराहारीमा प्रतिव्यक्ति आय पुगेको छ । यो हामीले गरेको सकारात्मक पक्षको परिणाम हो भन्ने हामीले कहिँ कतै व्याख्या गरिरहेका छैनौँ’, उनले भनेका छन् ।
‘मुलुकको पञ्चायती व्यवस्था अन्त्य हुँदै गर्दा मुलुकमा ९ हजार किलो मिटर कालोपत्रे भएको थियो । आज तथ्याङ्कले भन्छ करीव १ लाख किलोमिटर कालोपत्रे बनेको तथ्याङ्कले प्रस्तुत गरिरहेको छ’, नेता चौधरीले भनेका छन् ।
‘हामीले आर्थिक उन्नतिमा ठूलो फड्को मार्यौँ भन्ने कुराको संकेत गर्छ । पञ्चायती व्यवस्थाको अन्त्य गर्दैगर्दा मुलुकको अर्थतन्त्र ३.६ मिलियन डलर थियो’, उनले भनेका छन्, ‘सन् २०२२ सम्म आइपुग्दा मुलुकको अर्थतन्त्र ४२ मिलियन डलर पुगेको छ ।’
उनले भने, ‘यसको मतलब हामीले मुलुकलाई ठीक ढंगले चलाएका रहे छौँ । जनताको आर्थिक स्थिति बलियो बनाउनको लागि ठीक काम गर्यौँ भन्ने कुराको संकेत हो ।’
‘पञ्चायत ढल्दै गर्दा, लोकतन्त्र ल्याउँदै गर्दा २ सय २७ मेगावाट रहेको बिजुली केही सीमित मान्छेहरूले मात्रै प्रयोग गर्न पाउँथे । आज मुलुकमा २७ सय मेगावाट बिजुली उत्पादनबाट करीव करीव प्रत्येक नागरिकको घरमा बिजुली पुगेको स्थिति छ । यसले मानव सूचांकमा हामीले ठूलो फड्को मारेका छौँ’, उनले भनेका छन् ।
‘मानिसहरूले स्वास्थ्य सेवा पाएका छौँ । नेपाली नागरिकहरूले शिक्षाको सुविधा पाएका छन् । शिक्षाको पहुँच पुगेको छ’, उनले भने, ‘यी तमाम सूचकांकले हामी मुलुकलाई ठीक ठाउँमा ढंगले चलाएका थियौं र छौँ भन्ने कुराको संकेत गर्दा गर्दै हामी किन जनताको माझमा अलोकप्रिय भयौँ ? भन्ने कुरा अहम् प्रश्न हो ।’
उनले भने, ‘हामीले हाम्रो कार्यकालमा धेरै सामाजिक रुपान्तरणका काम गर्यौँ । धेरै बेथितिको अन्त्य गर्यौँ । कमैया मुक्ति आन्दोलनलाई कमैया मुक्त गर्यौँ । तमाम ‘कु’प्रथाको अन्त्य हाम्रै पालमा भएको छ । तर, यी सब कुरा गर्दागर्दै पनि हामी किन नेपाली कांग्रेस दिन प्रतिदिन कमजोर रहेको महसुस गरिरहेका छौँ । हामी केही गरेनौँ कि भन्ने किसिमको आभास दिएका छौँ । त्यसो भएको हुनाले सब कुरा जनतामाझ हामीले बताउन सकेनौँ भन्ने कुरा बुझ्न जरुरी छ ।’
‘२०४८ सालपछि लाभको पद क–कसले लियो ? मानिसहरू धेरै सचेत भइसके । आदिवासी, जनजाती, मधेशी, दलित, थारुहरूले लाभको पद कति पाए ? राजदूतहरू नियुक्त हुन्छन् । यो देशका तमाम लाभको पदमा जाने बेलामा यहाँका बहुसंख्यक आदिवासी, जनजाती, थारु, मधेशी, मुस्लिमहरूले कति पाए ? यसको लेखाजोखा, यसको नकारात्मक प्रभाव कति धेरै परेको छ त्यसैले आगामी दिनमा यी कुराहरू सच्याएर जान जरुरी छ’, उनले भनेका छन् ।
उनले भने, ‘हामीले भरखरै तरुण दल गठन गरेका छौं । तरुण दलमा लुम्बिनी प्रदेशमा एक जना पनि थारुको प्रतिनिधित्व भएन । योभन्दा दुर्भाग्य के हुन सक्छ । सिङ्गो ४ सय जनामा एक जना सुदूरपश्चिममा र सिङ्गो ४ सय जनामा ३ जना थारुहरूको उपस्थितिले के संकेत गर्छ ? यी सब कुराहरूलाई हामीले सच्याएर जान सकेनौँ भने हामी अलोकप्रिय हुन्छौँ ।’
‘हामी गठबन्धनमा गयौँ । गठबन्धनबाट चुनावमा गयौँ । देशको ठूलो पार्टी बन्यौँ । हामी उप–निर्वाचनको अनुभव पनि गर्यौँ । चुनावका केही तितामीठा अनुभव रहे । हामी यो देशको ठूलो राजनीतिक दल भयौँ’, उनले भने, ‘यसमा सभापति लगायत सम्पूर्ण पदाधिकारीप्रति धन्यावाद व्यक्त गर्न चाहन्छु ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया