तिलोत्तमाका नगरप्रमुख खाण आफैले काटिदिए भद्रगोल तार

काठमाडौं । रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले सडक किनारका विद्युतका पोलहरूमा जथाभावी टाँगिएका विभिन्न सेवाप्रदायक कम्पनीका तारहरू व्यवस्थित बनाउन शुरू गरेका छन् ।

बुधबार नगरप्रमुख खाणले आफैंले विद्युतको पोलमा चढेर जथाभावी झुण्डाइएका तारलाई हटाएका छन् । उनले अव्यवस्थित तारहरू हटाउने कार्यको सुरुवात गरेका छन् ।

बुटवल र तिलोत्तमाको सीमा क्षेत्र योगिकुटी चोकबाट तार काटेर व्यवस्थित बनाउने कार्यको सुरूआत गरिएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख खाणले पोलहरूमा जथाभावी टाँगिएका तारहरूले नगरलाई कुरूप बनाएको मात्र नभई आगलागी र दुर्घटनाको जोखिम समेत निम्त्याएकोले तारहरूलाई व्यवस्थित बनाउन सुरू गरिएको बताएका छन् ।

उनले भने, ‘एउटै पोलमा विद्युतको तारसँगै इन्टरनेट र केबलका दर्जनौं कम्पनीका तारहरू जथाभावी टाँगिदा आगलागीका घटना समेत हुने गरेका छन् । पोलमा आगलागी हुँदा नजिकैका घरमा आगलागी हुनसक्ने र विद्युतीय उपकरणहरू सर्ट हुने जोखिम बढिरहेको छ ।’

नगरका मुख्य चोक, सडक किनार र घर अगाडि नै कुरूप बनाउने गरी टाँगिएका तारहरूलाई हटाउन नगरपालिकाले सरोकारवालालाई आग्रह गरेको थियो ।

Published : Thursday, 2023 July 20, 7:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया