भारतद्वारा ३४ एम्बुलेन्स र ५० वटा स्कुल बस उपहार स्वरुप प्रदान

काठमाडौं । भारत सरकारद्वारा नेपालका विभिन्न संघ/संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको छ ।

आइतबार भारतीय राजदूतावास काठमाडौंले स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा एम्बुलेन्स तथा स्कुल बसको चाबीहरू हस्तान्तरण गरेका छन् ।

नगरपालिकाका मेयर, गाउँपालिका प्रमुख, लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी, समाजसेवी आदिको कार्यक्रममा उपस्थिति रहेको थियो ।

नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहार स्वरुप प्रदान गर्दै आएको छ ।

राजदूत श्रीवस्तवले एम्बुलेन्स तथा स्कुुल बसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासलाई थप बलियो बनाउन नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारको लामो समयदेखिको परम्परा रहेको बताएका छन् ।

मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमाजारी विकास परियोजनाको सराहना गरेका छन् ।

सन् १९९४ यता भारतले आइतबारको सहित हालसम्म नेपालका विभिन्न जिल्लामा रहेका संघ संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहार स्वरुप उपलब्ध गराइसकेको छ ।

Published : Sunday, 2023 July 16, 2:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया