सीताको निधनले दाहाल परिवारलाई ठूलो शोक
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा निधनको छ ।
बुधबार बिहान थापाथलीस्थित अस्पतालमा सीताको निधन भएको हो । बुधबार बिहान ८:३३ बजे उपचारका क्रममा थापाथलीस्थित निजी अस्पतालमा सीताको निधन भएको माओवादीले जनाएको छ ।
सीता लामो समय पार्किन्सनसम्बन्धी रोगबाट ग्रसित थिइन् । स्वास्थ्यमा उनको थप जटिलताहरू आउँदा पछिल्लो समय नाजुक अवस्था बनेको थियो ।
विक्रम संवत् २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो ।
२०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध सीता जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार रहेकी थिइन् ।
पार्टी कामका लागि पञ्चायत कालमा लामो समय भूमिगत जीवन बिताएकी दाहाल जनयुद्ध सुरुवात भएपछि (२०५२ सालदेखि) भूमिगत राजनीतिमा सक्रिय रहँदै आएकी थिइन् ।
भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयाघातका कारण निधन भइसकेको छ ।
छोरीहरू रेनु दाहाल र गंगा दाहाल सम्पूर्ण रूपले देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहँदै आएको माओवादी केन्द्रले जनाएको छ ।
सीताको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि बुधबार बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा राखिएको छ । दिउँसो २ बजे पशुपति आर्यघाटमा सीताको अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ ।
विभिन्न दलका नेताहरूले पनि सीताको निधनमा दु:ख व्यक्त गरेका छन् । सीताको निधनपछि राजनीतिक दलहरूले औपचारिक र अनौपचारिक कार्यक्रम समेत स्थगित गरेका छन् । सीताको बुधबार बिहान ८:३३ बजे थापाथलीस्थित निजी अस्पतालमा निधन भएको थियो ।
सीताको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् । सीताको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय माओवादीले गरेको छ ।
पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले बुधबार र बिहीबार माओवादीको सबै पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको महासचिव देवप्रसाद गुरुङले जानकारी दिएका छन् । बिहीबार जिल्ला, प्रदेश कार्यालयमा शोक सभा गर्ने निर्णय पनि गरिएको छ ।
यता, मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रधानमन्त्री दाहालकी पत्नी सीताको निधनप्रति नेपाल सरकारको तर्फबाट दु:ख तथा समवेदना प्रकट गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको बैठकले सीतालाई ‘फस्ट लेडी’ को हैसियतमा अन्तिम सम्मान दिने निर्णय भएको छ ।
उता, राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्डकी पत्नी सीताको निधनको खबरले आफूलाई अत्यन्त दु:ख लागेको बताएका छन् ।
राष्ट्रपति पौडेलले बुधबार बिहान प्रचण्डलाई टेलिफोन गरेर दु:ख व्यक्त गरेका हुन् । दु:खको यस घडीमा प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया