एलओडीका रुदिल कुपण्डोलबाट पक्राउ

काठमाडौं । प्रहरीले लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबका सञ्चालक रुदिल बल्लब श्रेष्ठ पनि पक्राउ परेका छन् ।

काठमाडौंको ठमेलस्थित एलओडी क्लबका सञ्चालक श्रेष्ठ पनि पक्राउ परेका हुन् । ललितपुर प्रहरी परिसरले शुक्रबार बिहान ९:३० बजे श्रेष्ठलाई कुपण्डोलबाट पक्राउ गरेको जनाएको छ ।

जेठ ३० गते ठमेलको एलओडी क्लबमा पुगेकी १५ वर्षीय किशोरीको बलात्कार प्रकरणमा क्लबका सञ्चालकद्वय रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएको थियो ।

यसअघि बिहीबार साँझ क्लबमा पुगेकी नाबालिग बलात्कृत घटनामा सञ्चालक राजुसिंह सुवाललाई पक्राउ गरिएको थियो ।

एलओडी क्लब पुगेकी १५ वर्षीया नाबालिगलाई पोखरा घर भएका ५० वर्षीय सुदन कोइरालाले ललितपुरस्थित आफ्नो फ्ल्याटमा लगेर गत जेठ ३१ गते बलात्कार गरेको प्रहरीमा जाहेरी परेको थियो ।

जेठ ३१ गते बिहान ४ बजे प्रहरीले नाबालिगलाई ललितपुरको एक फ्ल्याटबाट उद्धार गरेको थियो ।

ललितपुर प्रहरी परिसरका अनुसार पक्राउ परेका दुवैजनालाई बालबालिका सम्बनधी कसूरमा पक्राउ गरिएको हो ।

उमेर नपुगेको बालबालिकालाई क्लबमा प्रवेश दिएर उनीहरूमाथि अपराध भएकाले बालबालिकासम्बन्धी कसूरमा उनीहरूलाई पक्राउ गरिएको हो ।

जेठ ३० गते राति क्लबमा पुगेकी किशोरीलाई क्लबमै पुगेका कोइरालाले त्यहाँबाट लिएर आफ्नो फ्ल्याटमा आएका थिए ।

फ्ल्याटमा आएपछि कोइरालाले बलात्कार गरेपछि नाबालिगले आफ्नो परिवारका सदस्यलाई फोन गरेपछि परिवारको सहयोगमा प्रहरीले बालिकालाई फोन आएको एक घण्टापछि उद्धार गरेको थियो ।

फरार रहेका कोइरालालाई भने सोही बिहान ९ बजे पक्राउ गरिएको ललितपुर प्रहरीका प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताएका छन् ।

यसअघि, सोही मुद्दामा अर्का सञ्चालक राजुसिंह सुवाललाई बिहीबार साँझ बालुवाटारबाट पक्राउ गरिएको थियो । उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको शाहले जानकारी दिए ।

जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुई जना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको थियो । प्रहरीले यसअघि बलात्कारको आरोप लागेका सुदन कोइरालालाई पक्राउ गरिसकेको छ ।

Published : Saturday, 2023 July 8, 8:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया