काण्ड गरेपछि एलओडीका मालिकहरूविरुद्ध पक्राउ पुर्जी जारी, मालिकहरूको भागाभाग

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले १५ वर्षीया किशोरी बलात्कार भएको घटनामा काठमाडौंको ठमेलमा रहेको नाइट क्लब ‘एलओडी’का मालिकविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

प्रहरीले एलओडीका मालिकहरूलाई पक्राउ गर्न ललितपुर जिल्ला अदालतबाट अनुमति लिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी नमराज कार्कीले बताएका छन् । तर, एसपी कार्कीले पक्राउ पुर्जी जारी भएका एलओडीका व्यक्तिहरूको नाम गोप्य रहेको जनाएका छन् । उनले भने, ‘एलओडीका सञ्चालक अर्थात मालिकहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उहाँहरू पक्राउ परिनसकेका कारण नाम गोप्य राखिएको छ ।’

कम्पनी रजिष्स्ट्रार कार्यालयमा रहेको कम्पनीको प्रबन्ध पत्रमा एलओडीका मालिकहरूको नाम रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवाल रहेको छ ।

जेठ ३१ गते ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएको घटनामा पोखरा घर भएका एक जना हाइलेबलका व्यापारी पक्राउ परेका छन् ।

एलओडी क्लवले उमेर नपुगेकी किशोरीलाई क्लवमा छिर्न दिँदा किशोरी बलात्कृत हुनु परेको आरोप छ । नाइट क्लवहरूमा उमेर नपुगेका किशोर र किशोरीलाई प्रवेश निषेध गरिएको छ । तर, एलओडीले पैसा कमाउने बहानामा उमेर नपुगेका किशोर र किशोरीलाई प्रवेश दिएका कारण बलात्कार र हिंसाका घटना भएको आरोप लागेको छ । एलओडी क्लवको नाम जोडिएर बेलाबेला विभिन्न खालका अपराधका घटना भएको बाहिर आउने गरेका छन् ।

एलओडीको नाममा कुनै अप्रिय घटना हुनेवित्तिकै राजनीतिक पहुँच र शक्तिका आडमा घटनालाई सामसुम पार्ने कार्य हुँदै आएका छन् ।

१५ वर्षीया किशोरी बलात्कार भएको घटनामा ललितपुर प्रहरीले एलओडी क्लवलाई पनि शंकाको घेरामा राखेको छ । एलओडी क्लवले कानून विपरित किन १५ वर्षीया किशोरीलाई क्लवमा छिर्न दियो भनेर सुक्ष्म ढंगले अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) कार्कीले बताएका थिए । कार्कीले भने, ‘घटनाका विषयमा अनुसन्धान भइरहेको छ । एलओडी क्लवभित्र उमेर नपुगेकी किशोरीलाई कसले र किन प्रवेश गराइयो ? यो विषय पनि अनुसन्धानको दायरामा छ । अनुसन्धानका क्रममा रहेकाले धेरै बोल्न मिल्दैन ।’

एलओडी क्लवले कानून विपरित किशोर र किशोरीलाई छिराएर हिँसा र अपराधका घटना भएका पुष्टि भएमा क्लव प्रहरी प्रशासनले एलओडीलाई बन्द पनि गराउन सक्छ । एलओडीका कर्तुतहरूबाट प्रहरी पनि निकै तनावमा आएको छ । प्रहरी वृत्त सोह्रखुट्टे पनि एलओडीको हर्कतबाट दिक्क भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पनि एलओडी मात्र नभइ सबै नाइट क्लव र यस्तै प्रकृतिका व्यवासयमा निगरानी बढाउँदै आएको छ ।

एलओडीले बेलाबेला दिने विभिन्न खालका दवावबाट प्रहरीले तनाब झेलिरहेको छ । एलओडी क्लबमा नाचेर रमाइलो गरेकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले ५० वर्षीय सुदनबहादुर कोइरालालाई पक्राउ गरेपछि एलओडीको कर्तुत बाहिर आएको छ ।

उदयपुर जिल्ला स्थायी घर भई हाल कोटेश्वर बस्दै आएकी किशोरी एओडी क्लव छिरेकी थिइन् । बालिकालाई जेठ ३१ गते एलओडी क्लबबाट आफ्नै गाडीमा राखेर कोइरालाले बागडोल पुर्‍याएर बलात्कार गरेको आरोप छ । कोइरालाको स्थायी घर पोखरामा पर्छ । उनी हाल ललितपुरको बागडोल बस्दै आएका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख (एसएसपी) सिद्धिविक्रम शाहले १५ वर्षीया किशोरीलाई बलत्कार गरेको अभियोगमा ५० वर्षीय सुदनबहादुर कोइरालालाई पक्राउ गरिएको बताएका छन् ।

बागडोलमा कोइरालाको कार्यालय रहेको छ । सोही कार्यालयमा लगेर कोइरालाले किशोरीलाई बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको एसएसपी शाहले बताएका छन् ।

यसअघि वैशाख १५ गते एलओडीका दुई जना महिला पनि बलात्कृत भएका थिए । क्लबको सरसफाइको काम गर्ने दुई महिलालाई बिहान एक होटलमा लगेर बलात्कार गरेको खुलेको थियो ।

खाजा खुवाउने भन्दै एक खाजा पसलमा मदिरा खुवाएर होटलमा पुर्‍याई बलात्कार गरिएको थियो । सोही अभियोगमा प्रहरीले खोटाङको बाह्रपोखरी गाउँपालिका– २, स्थायी घर भई काठमाडौंको नयाँ बजार बस्ने लोकबहादुर मगर र काठमाडौंको गोकर्णेश्वर नगरपालिका– २ का माइला भन्ने रामकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।

Published : Thursday, 2023 July 6, 12:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया