गगन–प्रदीपको क्षेत्रमा भारतले बनाइदियो सुविधा सम्पन्न धर्मशाला

काठमाडौं । उप–राष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–३ मा निर्मित बुढानीलकण्ठ धर्मशालाको उद्घाटन गरेका छन् । धर्मशाला रहेको स्थान नेपाली कांग्रेसका सांसदद्वय गगनकुमार थापा र प्रदीप पौडेलको क्षेत्रमा पर्छ ।

बुढानीलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्द, प्रतिनिधिसभा सदस्यद्वय गगनकुमार थापा र प्रदीप पौडेल, नेपालका लागि भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव, गुठी संस्थानका प्रमुख डा.शिवराज पण्डित, बुढानीलकण्ठ मन्दिर समितिका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

भारत सरकारको करिब नेरु ५ करोड अनुदान सहयोगमा सो धर्मशालाको निर्माण भएको विज्ञप्तिमा उल्लेख छ । नेपालको सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत यो परियोजनाको निर्माण भएको छ ।

२०७२ सालको भूकम्पले क्षतिपुर्‍याएका सम्पदाहरूको संरक्षण एवम् पुनर्निर्माणका लागि पुरातत्व विभागले तयार पारेको आधारभूत निर्देशिका बमोजिम बुढानीलकण्ठ मन्दिरको पुनर्निर्माण भएको छ ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई र शहरी विकास तथा भवन निर्माण विभागले यस परियोजनाको कार्यान्वयन गरेको छ । साढे तीन तल्ले धर्मशालाले बुढानीलकण्ठ मन्दिरमा आउने हजारौं तीर्थयात्रीलाई सेवा दिनेछ ।

नेपालको पवित्र साँस्कृतिक एवम् धार्मिक स्थलहरूमध्येकै एक मानिने बुढानीलकण्ठ मन्दिरको ठूलो महत्व रहेको छ । परियोजनाले नेपालसँग भारतको लामो समयदेखि रहि आएको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै नेपालमा भूकम्पपछिको पुनर्निर्माण कार्यमा नेपाल सरकारले गरेको प्रयासको कदर गर्दछ ।

उप–राष्ट्रपति यादवले भूकम्पपछिको पुनर्निर्माणमा भारत सरकारले पुर्‍याएको सहयोगको सराहना गरेका छन् । भारत सरकारले नेपालको सात वटा जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको संरक्षण गर्ने प्रविबद्धता गरेको छ ।

भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५०,००० वटा निजी घर पुनर्निर्माण, आठ जिल्लामा ७१ वटा शैक्षिक संस्था र १० जिल्लामा १३२ वटा स्वास्थ्य सुविधा पुनर्निर्माणका लागि सहयोग प्रदान गरेको छ ।

Published : Wednesday, 2023 July 5, 9:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया