लाइसेन्सको आवेदन, नवीकरण, सवारी बर्ग थपको राजश्व अनलाइनबाट बुझाउने मिल्ने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नवीकरण, बर्ग थप, पहिले आवेदन गरेका तर, सफल हुन नसकेकाले पुन: आवेदन बिद्युतीय माध्यमबाट गर्ने कामको शुरुवात गरेको छ ।

बुधबारबाट मन्त्रालयले अनलाइनबाट सेवाहरू लिन सकिने र कर तिर्ने व्यवस्था मिलाएको छ ।

अनलाइनको व्यवस्थाले यातायात कार्यालयहरू लाग्ने गरेको भीड र बिचौलिया प्रबृति अब अन्त्य हुनेछ । भौतिक योजना तथा पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बुधबारदेखि अनलाइन प्रणालीको शुरुवात गरेका हुन् ।

मन्त्री ज्वालाले भने, ‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएलगतै यातायात ब्यवस्था कार्यालयमा लाग्ने गरेको भीड र बिचौलियातन्त्रको अन्त्य गर्ने अठोट गरेको थिए । लाइसेन्सका लागि नयाँ आवेदन, नवीकरण, सवारी बर्ग थप र राजश्व आजदेखि अनलाइनबाटै बुझाउने ब्यवस्था गरेका छौं ।’

उनले भने, ‘आजदेखि गण्डकी प्रदेशको पोखराबाट सेवा सुरु गरेका छौं, एक महिनाभित्र देभभरका यातायात कार्यालयबाट अनलाइन सेवा शुरु गर्छाै ।’

अनलाइन सेवा सुचारु भएपछि यातायात ब्यवस्था कार्यालयमा बायोमेट्रिक गर्न, लिखित परीक्षा र ट्राइल दिन मात्र जानुपर्नेछ ।

‘स्वास्थ्य परीक्षणपनि यातायात व्यवस्था कार्यालयबाट मात्र नभई प्रदेश मन्त्रालयले तोकेका चिकित्सकबाट पनि लिने व्यवस्था गर्न लागेका छौं’ यातायात ब्यवस्था विभागमा महानिर्देशक नारायणप्रसाद भट्टराईले भनेका छन् ।

नेपालमा झण्डै ३३ लाख ६० हजारले चालक अनुमति पत्र दिएका छन् । लाइसेन्स नवीकरण पनि पाँच/पाँच वर्षमा नभई १० वर्ष गर्ने व्यवस्था हुँदैछ ।

नयाँ आवेदन स्वीकृत भएको, लिखित परीक्षा प्रयोगात्मक परीक्षाको नतिजा हेर्न पनि अब यातायात कार्यालय जानुपर्दैन ।

Published : Wednesday, 2023 July 5, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया