प्रेस काउन्सिल अध्यक्ष बस्नेतविरुद्ध आधारहीन आरोप, कानूनी लडाइँको तयारी
काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध आधारहीन आरोपलगाइएपछि कानूनी लडाइँको तयारी भएको छ । प्रहरीले उनीविरुद्ध तथ्य र आधारहीन ढंगले आक्षेप लगाई उजुरी दिएको बताइसकेको छ ।
केही दिनअघि उनीविरुद्ध साइबर ब्यूरोमा साइबर सम्बन्धी उजुरी परेको थियो । अध्यक्ष बस्नेतले चलाउने मेसेन्जरबाट अस्वभाविक ढंगले कल, मेसेज गएको भन्दै उजुरी परेको थियो । त्यसमाथि भएको अनुसन्धानले त्यस्तो कुनै तथ्य, प्रमाण नभेटिएको ब्यूरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिएका छन् ।
‘उजुरीमा भनेजस्तो, आक्षेप लगाइएको कुरालाई पुष्टि गर्ने कुनै तथ्य, आधार र प्रमाण भेटिएन’, प्रवक्ता रायले बताए ।
आफूले चलाउने फेसबुकमा केही दिन प्राविधिक समस्या भएको, सोही बीचमा भएका कल, मेसेजको बारेमा बस्नेतले प्रहरीको साइबर ब्यूरो र सार्वजनिक रुपमा समेत जानकारी गराएका थिए ।
सोही बीचमा रातको समयमा आफ्नो मेसेन्जरमा अपशब्द प्रयोग भएकोले कारवाही माग गर्दै बस्नेतविरुद्ध उजुरी परेको थियो ।
तर, उजुरीकर्ताको फेसबुक एकाउण्ट शंकास्पद रहेको, उजुरीमा दावी गरेअनुसार शब्द प्रयोग नभएको, उजुरीकर्ताको मेसेन्जरबाटै पहिलो कल गएको अनुसन्धानमा देखिएको प्रहरी स्रोतले जानकारी दियो ।
त्यस्तै, बस्नेतले चलाउने मेसेन्जर दुरुपयोग गरी उजुरीकर्तासँग कसैले ५ हजार रुपियाँ मागेको देखिएको तर, सो कुरा उनले उजुरीमा उल्लेख नगरेकाले झन् शंका बढाएको स्रोतको दावी छ ।
यसैबीच, आफूविरुद्ध अनाहकमा सामाजिक सञ्जालमा अफवाह फैलाइएको विषयमा काउन्सिल अध्यक्ष बस्नेतले मंगलबार राजधानीमा उपलब्ध बोर्ड सदस्यहरुसहित बैठक बोलाएर सुझाव लिएका छन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, बोर्ड सदस्यहरु दीपक पाण्डे, ठाकुरप्रसाद बेल्वासे, शरद अधिकारीसहित भएको आकस्मिक बैठकमा बस्नेतले अहिलेसम्मका सबै घट्नाक्रमबारे सविस्तार सुनाएको एक सदस्यले जानकारी दिए ।
तथ्य पुष्टि नभई व्यक्तिको चरित्रहत्या र मानमर्दन हुने गरी प्रचार प्रसार गर्ने, सामाजिक सञ्जालमा अपशब्द र गालीगलौज गर्नेविरुद्ध कानुनी लडाइँबारे उनले अवगत गराएका थिए ।
ती सदस्यका अनुसार अध्यक्ष बस्नेत आफू विरुद्ध अफवाह फैलाउनेलाई हदैसम्म कारवाही माग गर्दै न्यायका लागि अदालती प्रक्रियामा जुटेका छन् । मंगलबार अबेरसम्म ३३ जना कानूनव्यवसायीले मुद्दामा सहयोगका लागि वकालतनामा को प्रतिवद्धता दिएको उनले बताए ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया