कान्ति लोकपथका लागि मीनकृष्ण महर्जन चिन्तित, प्रदेश सभामा उठाए कुरा

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभा सदस्य मीनकृष्ण महर्जनले अहिलेको अवस्थामा सबै राजनीतिक दल मिल्नुपर्ने बताएका छन् ।

बागमती प्रदेश सभाको बिहीबार बसेको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महर्जनले मुलुकलाई निकास दिनका लागि संकटको बेला मिल्नुपर्ने बताए । उनले भने, ‘के परम्परा छभने एउटाले अर्कोलाई हिलो छ्याप्ने काम पटक पटक भएको म देख्छु ।’

‘हामीलाई जनताले विश्वास गरेर जनप्रतिनिधि भएको छ । हाम्रो पहिलो प्राथमिकता भनेको विकास निर्माणमा हामी लाग्नुपर्छ’, महर्जनले भने, ‘जनताको सेवामा लाग्नुपर्छ । जनतामुखी भएर काम गर्नुपर्छ ।’

उनले भनेका छन्, ‘मैले अस्ती पनि कुरा राखेको थिएँ । ललितपुर क्षेत्र नं. १ ललितपुरको २ नं. र ३ नं. क्षेत्र जस्तो होइन । २ र ३ नं. क्षेत्रको माननीयज्यूहरू यहिँ हुनुहुन्छ ।’

‘ललितपुर क्षेत्र नं. १ एकदमै बिकट छ । कान्तिलोकपथ सडक मेरो क्षेत्रमा नै पर्छ । अहिले वर्षात् शुरु हुन लागेको छ’, महर्जनले भने, ‘त्यो कान्तिलोकपथ बाटो वर्षातको समय शुरु हुनेवित्तिकै बन्द हुन्छ । वर्षातको समयमा पहिलो जान्छ । त्यहीबाटोबाट ओहर–दोहर गर्छौं ।’

उनले भने, ‘कान्तिलोकपथमा रहेको मेरो क्षेत्र पहाडी क्षेत्रमा पर्छ । विशेष गरेर बागमती गाउँपालिकाका जनताहरू कृषिमा निर्भर छन् । त्यहाँका जनता सडक अबरोधका कारणले गर्दा किसानहरू मर्कामा पर्छन् ।’

‘मुख्यमन्त्री र मन्त्रीहरू तथा सम्बन्धित निकायका कर्मचारीहरूलाई यो पनि ध्यानाकर्षण गराउन चाहन्छु । अस्ती मात्रै पनि कान्तिलोकपथमा पहिरो गएको छ’, उनले भने, ‘डिईलाई भनेर पहिरो हटाउन लगाएँ । त्यहाँ दुई वटा स्काभेटर अनिवार्य हुनुपर्छ ।’

कान्ति लोकपथका लागि यो वर्ष सडक स्तरउन्नतिको लागि हाल २४ करोड बिनियोजन भएको छ ।

महर्जनले भने, ‘काठमाडौं उपत्यकामा चार बाराहीमध्ये बज्रबाराही मन्दिर पर्छ । गोदावरी नगरपालिका वडा नं. ११ मा छ । त्यो मन्दिरभित्र सटरहरू अस्तव्यस्त छ ।’

‘त्यहाँ पर्यटक पनि आउँछन् । पिकनिकमा आउने थुप्रै हुन्छन्’, उनले भने, ‘त्यसलाई पनि व्यवस्थित गर्नु हुन सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गराउँछु ।’

Published : Saturday, 2023 June 3, 12:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया