नक्कली भुटानी प्रकरणमा म कतै जोडिएको छैन : मुख्यमन्त्री चौधरी

घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको बताएका छन् ।

शनिबार घोराहीमा नेपाल प्रेस युनियन दाङ शाखाको साधारण सभा एवम् आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम विभिन्न सञ्चारमाध्यममा आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।
मुख्यमन्त्री चौधरीले सो प्रकरणमा आफू कहीँ कतै पनि नजोडिएको बताएका छन् ।

उनले सञ्चार माध्यमलाई सत्यतथ्य बुझेर मात्रै समाचार प्रकाशन गर्न आग्रह गरेका छन् । मिडियालाई बलियो बनाउनका लागि प्रदेश सरकारले पत्रकार र सञ्चार गृहका लागि विशेष योजना बनाएको मुख्यमन्त्री चौधरीले बताएका छन् ।

उनले पत्रकारको पेशागत सुरक्षा, क्षमता विकास तथा दूरदराजसम्म सूचनाको पहुँच पुर्‍याउनका लागि प्रदेश सरकारले भूमिका खेल्दै आएको बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले लोकतान्त्रिक आन्दोलनको जगबाट अहिलेको व्यवस्था स्थापनाका लागि नेपाली सञ्चारकर्मीले खेलेको भूमिकालाई राजनीतिक दलले विर्सन नहुने बताएका छन् ।

उनले पछिल्ला दिनमा सार्वजनिक भइरहेका घटनाक्रमकै कारण लोकतन्त्र कमजोर हुन्छ की भन्नु गलत रहेको बताएका छन् ।

लोकतन्त्रको सम्वर्द्धन र संरक्षणका लागि नेपाली मिडिया सक्षम रहेको उनले बताएका छन् । राजनीतिक दलले मिडियामैत्री वातावरण निर्माणका लागि आवश्यक ऐन कानून निर्माणमा ध्यान दिनुपर्ने पोखरेलले बताएका छन् ।

उनले भने, ‘सामाजिक सञ्जालमा आउने विभिन्न खालका अफवाहले नागरिकमा भम्र सिर्जना गर्ने काम भइरहेकोप्रति नेपाल पत्रकार महासंघ गम्भीर रहेको छ ।’

नेपाली मिडियाको विश्वसनीयता बढाउन अबको पत्रकारिता उत्तरदायी र जिम्मेवार हुनुपर्ने पोखरेलले बताएका छन् ।

प्रेस युनियन दाङ शाखाले स्थापना गरेको शिव गिरी स्मृति पत्रकारिता पुरस्कारबाट कृष्णराज सर्वहारीलाई पुरस्कृत गरिएको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य प्रचण्डविक्रम न्यौपाने, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारी, महासचिव दिलीप पौडेल, केन्द्रीय सदस्य नारायणी रजौरे, युनियनका प्रदेश अध्यक्ष सुदीप गौतम, लुम्बिनी प्रदेशका महासचिव नवीन गिरीलगायतको उपस्थिति थियो ।

Published : Saturday, 2023 May 13, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया