२४ घण्टाभित्र साढे २ करोडको सामान बरामद, मधेश प्रदेशमा सबैभन्दा धेरै तस्करी

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले २४ घण्टाभित्र साढे दुई करोडभन्दा धेरै मूल्य बराबरको अबैध सामान तथा गाडी बरामद गरेको छ ।

सोमबार बिहान १० बजेदेखि मंगलबार बिहान ८ बजेसम्म देशभरिको सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बलका विभिन्न यूनिटले २ करोड ५६ लाख ८४ हजार ४ सय २ रुपियाँ बराबरको अबैध सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सह–प्रवक्ता शैलेन्द्र थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोशी प्रदेशका ईलाम, झापा, मोरङ र सुनसरी जिल्लास्थित यूनिटले ४ लाख ८६ हजार ६ सय रुपियाँ बराबरको सामान बरामद गरेको छ ।

मधेश प्रदेशअन्तर्गत सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लास्थित यूनिटले २४ घण्टाको बीचमा २ करोड ३६ लाख २८ हजार ८ सय १२ रुपियाँ बराबरको अबैध सामान बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।

लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देही, कपिलबस्तु र बर्दिया जिल्लास्थित यूनिटले १० लाख ७६ हजार ५५ रुपियाँ बराबरको सामान बरामद गरेको छ ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली र कञ्चनपुरले सोही अवधीमा ४ लाख ९२ हजार ९ सय ३५ रुपियाँ बराबरको सामान बरामद गरेको छ ।

बरामद सामानमा भन्सार छलि र शंकास्पद कागजपत्र भएका ट्रक, हार्डवयरका सामान लत्ताकपडा कस्मेटिक सामान लगायत रहेका छन् ।

बरामद सामान आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय तथा सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2023 May 9, 7:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया