दाङको चारलेन सडक अलपत्र पारेपछि संसदभित्रै गिरी निकै रिसाए

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको चारलेन सडकको निर्माण काम लिएको ठेकेदार कम्पनी र सरकारविरुद्ध आक्रोश पोखेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समायमा बोल्दै सांसद गिरीले भौतिक योजना तथा पूर्वाधारमन्त्रीसँग दाङको चारलेन सडकको कामका विषयमा जानकारी माग गरेका छन् ।

उनले भने, ‘दाङ जिल्लाको चारलेन बाटो लथालिङ्ग भएको छ । त्यो बाटो बबइदेखि तुसलीपुरसम्मको चारलेन बाटो हो’, गिरीले भने, ‘चार वर्ष भयो टेण्डर भएको । न रद्द भएको छ ।’

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गिरीले भने, ‘निर्माणको काम बन्द भएको छ । दाङमा जुनसुकै जनप्रतिनिधि जाँदा अर्थात सरकारका मन्त्री जाँदा नारामात्रै लाग्ने अवस्था रहेको छ ।’

‘भौतिक योजना तथा पूर्वाधारमन्त्रीले बबई–तुलसीपुरको चारलेन सडकको अवस्था के हो ? जानकारी गराउनुपर्छ । अन्यथा हामी दाङ जिल्लाका सम्पूर्ण जनप्रतिनिधिहरूले आन्दोलन गर्नुपर्ने अवस्था आउँछ’, सांसद गिरीले चेतावनी दिएका छन् ।

कुइरेपानीको बबई नदीदेखि तुलसीपुरसम्मको सडक चारलेनको बनाउने भनेर टेण्डर लागेको छ । भारतीय ठेकेदार कम्पनीले टेण्डर लिएको चार वर्षभन्दा धेरै समय भएको छ । तर, ठेकेदार कम्पनी भागेको छ ।

विगतमा एमाले निकटका पेटी ठेकेदारहरूले काम गरे पनि पछि रकम कुम्ल्याएर भागेका थिए । एमालेका नेता घनश्याम पाण्डेका छोरा पनि यो सडकमा मुछिएपछि पक्राउ समेत परेका थिए ।

Published : Tuesday, 2023 May 9, 1:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया