स्वास्थ्यमन्त्री बस्नेतद्वारा आफ्नै मन्त्रालयमा छड्के, सचिवदेखि अधिकांश कर्मचारीहरू गयल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय र मातहतका निकायमा छड्को गरेका छन् ।
मन्त्री पदको शपथ लिएको पाँचौँ दिन मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयभित्रका सबै शाखामा अनुगमन र छड्के गरेका हुन् ।
सोमबार बिहान ठीक दश बजेदेखि दश बजेर २० मिनटसम्म मन्त्रालयभित्र र परिसरमा रहेका कार्यालयहरूको अनुगमन गरेका हुन् ।
मन्त्री बस्नेतद्वारा गरिएको अनुगमनका क्रममा सचिवदेखि अधिकांश कर्मचारीहरू अनुपस्थित रहेका थिए । उनले कर्मचारी प्रशासनका सह–सचिवलाई समेत सँगै राखेर अनुगमन गरेका थिए ।
कार्यालय समयभित्र सचिवदेखि खरदारसम्मका कर्मचारी अनुपस्थित देखिएपछि मन्त्री बस्नेतले चिन्ता जनाएका छन् । उनले सरकारी कर्मचारीले तोकिएको समयभित्र मन्त्रालय र कार्यालयमा नआउने हो भने कति बेला सेवाग्राहीको काम गर्छन् ? भनेर प्रश्न गरेका छन् ।
अचम्मको कुरा त के थियो भने कार्यकक्ष र कुर्सीमा अधिकांश कर्मचारी थिएनन् । नाम लेखिएको बोर्डमा भने ‘भित्र’ भनेर राखिएको थियो ।
मन्त्री बस्नेतले मातहतका कर्मचारीहरूको सहयोग लिएर काम गर्ने बताएका छन् । तर, मन्त्रालयकै सचिवदेखि अन्य कर्मचारीहरू समयभित्र आफ्नो कार्यकक्षमा उपस्थित नभएपछि बस्नेतले आफूलाई कसरी प्रस्तुत गर्ने हुन हेर्न बाँकी छ ।
कर्मचारी प्रशासन शाखाका सह–सचिवलाई समयमा अनुपस्थित हुने कर्मचारीका विषयमा उचित निर्णय लिन मन्त्री बस्नेतले निर्देशन दिएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया