सिन्धुपाल्चोकका जनताको आशीर्वादले मन्त्री बन्न पाएँ, राष्ट्रिय जिम्मेवारी थपियो : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका जनताको आशीर्वाद र साथले गर्दा मन्त्री बन्ने अवसर पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

शनिबार नेपाली कांग्रेस क्षेत्र नं. १ ले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नं. ४ आयोजना गरेको सामाजिक सञ्जाल प्रयोगकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले सिन्धुपाल्चोकका जनताको आशीर्वादले गर्दा आफू स्वास्थ्य मन्त्री बन्न पाएको बताए । उनले मन्त्री बनाउनुमा विशेष गरेर सिन्धुपाल्चोकको क्षेत्र नं. २ को विशेष योगदान रहेको बताएका छन् ।
उनले सिन्धुपाल्चोकले आफूलाई तीन पटक जिताएको भन्दै जनताप्रति झन् अभिभारा थपिएको बताए ।

मन्त्री बस्नेतले सामाजिक सञ्जालको सहि रुपमा प्रयोग नहुने हो भने समाजप्रति यसले बिकृति ल्याउन सक्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाललाई सहि रुपमा प्रयोग गर्न अनुरोध गरेका छन् ।

मन्त्री बस्नेतले भने, ‘समाजप्रतिको दायित्व के हो ? जनताप्रतिको दायित्व के हो ? विकास कसरी गर्नुपर्ने हो ? जनताको सुख, दु:खमा साथ कसरी दिनुपर्ने हो ? कसरी दिएको छ ? यसमा कुनै पनि किसिमको मतलब नहुने गरि एउटा हवाबाजी देशमा सिर्जना भइरहेको अवस्था छ ।’

‘यो कुराले दिन प्रतिदिन नेपालको राजनीतिलाई धमिलाउँदै जानेछ भन्ने लाग्दछ’, मन्त्री बस्नेतले भने, ‘जसले आफ्नो दायित्व, आफ्नो भूमिका, आफ्नो कर्तव्य, केही पूरा नगरिकन जनताप्रति त्यसतो भूमिका पाउन थालेपछि मान्छेहरू खाली फण्डाबाज गर्नतिर लाग्दा रहेछन् ।’

मन्त्री बस्नेतले सामाजिक सञ्जालबाट कांग्रेसले गरेका कामको जानकारी जनतासम्म पुर्‍याउन सकिएको बताए । उनले सामाजिक सञ्जालबाट प्रचार गरेका कारण कांग्रेस सिन्धुपाल्चोकमा पहिलो पार्टी बनेको बताए ।

कांग्रेस नेता बस्नेतले भने, ‘साथीहरूको मनोबल बढाउने गरेर सबैभन्दा धेरै काम मैले गर्नुपर्छ । त्यो भूमिका मैले खेलेको हुँ । तर, म एउटाले गरेर हुन कुरा केही पनि होइन । तपाईहरू वडादेखि टोलदेखि जिल्लासम्म सबैको सक्रिय भूमिका रह्यो ।’

नेता बस्नेतले सिन्धुपाल्चोकमा अधिकांश बाटो कांग्रेसले बनाएको बताएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको अधिकांश योजना कांग्रेसले दिएको उनले बताएका छन् ।

बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेसले जितेका कारण कक्षा १२ सम्म नि:शुल्क शिक्षा गरिएको उनले बताएका छन् । उनले भने, ‘कांग्रेसले जित्दा मात्रै विकास हुँदो रहेछ । हुन त कांग्रेसले जितेका केही पालिकामा काम गर्न बाँकी छ । क्रमश: हुनेछ ।’

नारा लगाएको भरमा र गफ लगाएको भरमा विकास नहुने उनले बताएका छन् । कोरोनाका बेला कांग्रेसका नेता कार्यकर्ताले सिन्धुपाल्चोकमा काम गरिएको उनले बताए । कोरोना र भूकम्प, बाढीपहिरोका बेला कांग्रेसका नेता कार्यकर्ता सबैभन्दा धेरै काम गरेको मन्त्री बस्नेतले बताएका छन् ।

सिन्धुपाल्चोकको क्षेत्र नं. २ ले आफूलाई झण्डै १२ हजार मतको अन्तरले विजयी बनाएको भन्दै मन्त्री बस्नेतले भने, ‘मेरो निश्चित रुपमा अलिक बढि दायित्व त्यहाँ छ । म कहिल्यै ढाँट्ने मान्छे पनि होइन । भनेको काम गर्ने मान्छे हुँ । विकासको हिसाबले अलिक बढि दु:ख गर्नुपर्ने अवस्था छ । म त्यो काम पूरा गर्छु । क्षेत्र नं.१ ले अभिभावक बिहीन छैन भनेर नभन्नु होला । मलाई दुई पटक यी १ नं.ले जिताएर पठाएको हो ।’

नेता बस्नेतले राष्ट्रिय राजनीतिमा भूमिका खेल्ने गरेर आफूले खाका बनाउन लागेको बताएका छन् । त्यो अभियानमा सबैलाई समेट्ने उनले बताएका छन् ।

तातोपानी नाका मसानघाट बनेर बसेको भन्दै मन्त्री बस्नेतले सिन्धुपाल्चोक जिल्लालाई सशक्त बनाउनेगरी योजना बनाउन लागेको बताएका छन् ।

मन्त्री बस्नेतले दुई नं. क्षेत्रमा यहि वर्ष अत्याधिक बजेट आउने बताएका छन् । उनले हेलम्बी, मेलम्ची क्षेत्रको विकासमा कुनै कमी नहुने बताएका छन् ।

मेलम्चीमा बेलिब्रिज बनाउने भनेर बजेट ल्याएका बेला एमाले र शेरबहादुर तामाङले सारा शक्ति लगाएर पुल बनाउन नदिएको बताए । उनले भने, ‘मेलम्चीको पुल बनाउन लागेको छु । प्रक्रिया फेरि प्रक्रिया अगाडि बढेको छ । नेपाली सेनाले पुल बनाइदिन्छु भनेको छ । बाढी कटान रोक्नका लागि छुट्टै कार्यालय स्थापना गरेर काम गरिरहेका छौँ ।’

मन्त्री बस्नेतले कांग्रेसले जित्दा विकास हुँन्छ भन्ने कुराको सन्देश दिनुपर्ने बताएका छन् ।

उनले देशका धेरै ठाउँमा घण्टी बजेको भन्दै सिन्धुपाल्चोकमा घण्टीको भोट नआएको बताए । उनले भने, ‘राम्रो काम गर्ने हो भने घण्टी पनि बज्दैन । जनतालाई काम गरेर देखाउनुपर्छ ।’

कांग्रेसले जितेको ठाउँमा कांग्रेस घट्न लागेको भन्दै नेता बस्नेतले चिन्ता जनाएका छन् । उनले कांग्रेस घटाउन काम गर्नेहरूको नाम सार्वजनिक गर्न नपरोस् भनेर चेतावनी पनि दिएका छन् । कांग्रेसले जित्दै नजितेको ठाउँमा कांग्रेसले जितेको उनले बताएका छन् ।

आकाशबाट खसेर आएको भनेर जनप्रतिनिधिले अहँकार गर्दा पराजय हुने निश्चित रहेको भन्दै बस्नेतले विकासको काम गर्नुपर्ने बताए । उनले भने, ‘जनताले परिवर्तन खोजेका छन् । हामी जनताले खोजेको परिवर्तनमा सम्वाहक बन्न सकेनौँ भने पाराजय निश्चित छ । सामाजिक सञ्जालमा आफूले गरेका काम राख्नुपर्छ ।’

कार्यक्रममा कांग्रेसका पूर्व केन्द्रीय सदस्य बिक्रम थापा, जिल्ला सभापति जंगबहादुर तामाङ, क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, बागमती प्रदेशकी प्रदेश सांसद मसिना खड्कालगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2023 May 6, 6:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया