भारतद्वारा सुशीला ठाकुर फाउण्डेशनलाई ५ करोड प्रदान
काठमाडौं । नेपालका लागि भारतीय राजदूतावासले सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउण्डेसनलाई नेपाली रुपियाँ ५ करोड दिएको छ ।
भारत–नेपालविकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको करिब नेरु. ५ करोड अनुदान सहयोग प्रदान गरिएको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
महोत्तरी जिल्लामा एलपीजी ग्यास चुल्हो र ग्यास सिलिण्डर वितरण हेतु भारतीय राजदूतावास, काठमाडौं र सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउण्डेसनबीच शुक्रबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
कार्यबाट महोत्तरी जिल्लाको ५ वटा नगरपालिकाका झण्डै ८००० विपन्नतथा सीमान्तकृत परिवार लाभान्वित हुने विज्ञप्तिमा उल्लेख छ ।
दाउरा, कोइला, गुँइठा जस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण भेगका घरपरिवारलाई एलपीजी ग्यास जस्ता सफा खाना पकाउने इन्धन उपलब्ध गराउने उद्देश्यले भारत सरकारले अघि सारेको ‘प्रधानमन्त्री उज्ज्वला योजना’बाट यो कार्यक्रम प्रेरित छ ।
सन् २००३ यता भारतले नेपालमा ५३५ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा ४७८ वटा सम्पन्न भइसकेका छन् ।
तीमध्ये महोत्तरी जिल्लाका ६ गरी मधेश प्रदेशमा ८१ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले महोत्तरी जिल्लाका विभिन्न अस्पताल एवम् स्वास्थ्य चौकीलाई २३ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको छ ।
परियोजनाको कार्यान्वयनले नेपाली जनताको जीवनस्तर उकास्न नेपाल सरकारले गरेका प्रयासहरूमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया