प्रहरीका लेखापाल नायब निरीक्षक बिष्ट बानेश्वरबाट पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीका लेखापाल प्रहरी नायब निरीक्षक विनोद बिष्टलाई पक्राउ गरेको छ ।

बिष्टले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस, रिसवत माग गरेको अख्तियारले जनाएको छ ।

गोप्य सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले प्रहरी नायब निरीक्षक बिष्टलाई सेवाग्राहीबाट नगद रु. ५० हजार रुपियाँ र एक लाख पचास हजार रुपियाँको चेक गरी जम्मा दुई लाख रुपियाँसहित पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

घुस, रिसवत लिइसकेको अवस्थामा उक्त रकम र चेकसहित काठमाडौं महानगरपालिका वडा नं. १०, नयाँ बानेश्वरबाट शुक्रबार प्रहरी नायब निरीक्षक बिष्टलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2023 May 5, 8:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया