कांग्रेसद्वारा कँडेल प्रकरणमा दोषीलाई कारबाही गर्न माग

काठमाडौं । नेपाली कांग्रेसले शंकरप्रसाद कँडेलको आत्महत्या प्रकरणको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न माग गरको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर महासमिति सदस्य कँडेलको आत्महत्या प्रकरणमा फेला परेका कुरालाई आधार बनाएर दोषीलाई पक्राउ गर्न प्रहरीसँग आग्रह गरेका छन् ।

‘नेपाली कांग्रेसका महासमिति सदस्य चितवनको भरतपुर महानगरपालिका वडा नं. ८ निवासी शंकरप्रसाद कँडेलले मिति २०८० वैशाख १९ गते साँझ देहत्याग गर्नु अघि ८ पृष्ठ लामो “सुसाइड नोट” छोड्नु भएको, आरोपित दोषीलाई पक्राउ गरी कानूनी कारवाही गर्न जिल्ला प्रहरी कार्यालय चितवनमा परिवारजनले किटानी जाहेरी दर्ता गरेको तर आजसम्म प्रशासनबाट दोषी पक्राउ गर्न कुनै तत्परता नदेखाएको प्रति नेपाली कांग्रेसको गम्भीर ध्यान आकृष्ट भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘घटनाको यथार्थ छानविन गरेर दोषीलाई कडा कानूनी कार्वाहीका लागि नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले भनेको छ, ‘राजनैतिक, सामाजिक र व्यवसायिक भूमिकामा सकृय कँडेलको देहत्यागप्रति गहिरो दु:ख व्यक्त गर्दै नेपाली कांग्रेस उहाँको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।’

Published : Friday, 2023 May 5, 7:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया