स्वास्थ्यमन्त्री बस्नेत ‘बेग’का साथ जाने संकेत गरे, स्वास्थ्य मन्त्रालयमा आशा जगायो
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्रयोगमा नआएका स्वास्थ्य उपकरणको रिपोर्ट माग गरेका छन् ।
शुक्रबार मन्त्रालयमा कर्मचारीहरूलाई निर्देशन दिने क्रममा बस्नेतले सात दिनभित्र प्रयोगमा नआएका उपकरणहरूको विवरण आफूलाई दिन मन्त्रालयका सचिवलाई निर्देशन दिएका हुन् । उनले स्वास्थ्य उपकरण कस्तो अवस्थामा रहेका छन्, त्यसको जानकारी माग गरेक हुन् ।
उनले भने, ‘धेरै उपकरण खरिद गरेर ल्याइएको छ । तर, ती उपकरण खिया लागेर बसेका छन् । त्यसको हिसाबकिताब एक हप्ताभित्रमा मलाई उपलब्ध गराउनुहोला ।’
मन्त्री बस्नेतले स्वास्थ्यका धेरै उपकरण मन्त्रालयमा कमिसनको लागि मात्रै खरिद हुने गरेको बताएका छन् । उनले अबदेखि कमिशन खानकै लागि स्वास्थ्यका उपकरण खरिद गर्ने कार्य अन्त्य हुने बताए ।
मन्त्री बस्नेतले भने, ‘बरु खर्च नभएर उपचार गर्न वञ्चित भएका नागरिकलाई कसरी सेवा दिन सकिन्छ त्यसको कार्ययोजना मन्त्रालयका अधिकारीले बनाउनुहोस् । त्यसको कार्यावन्यन गर्ने जिम्मेवारी मेरो हो ।’
मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा बढी सरुवा बढुवामा मात्रै केन्द्रित हुने रोगको अबदेखि अन्त्य हुने बताएका छन् ।
‘म पहिला स्वास्थ्य राज्यमन्त्री भएर आउँदा वर्षको दुई पटक असोज र चैतमा मात्रै सरुवा बढुवा हुने व्यवस्था गरेको थिएँ’, बस्नेतले भने, ‘त्यो दुई वर्षसम्म टिक्यो । अबदेखि बाह्रै महिना सरुवा बढुवाको काम हुँदैन । कामको आधारमा मात्रै पदोन्नति हुन्छ ।’
स्वास्थ्य क्षेत्रमा धेरै बेथिति रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले अबदेखि विदेशका कार्यक्रममा जाँदाको उपलब्धी पनि माग गरिने बताएका छन् ।
उनले भने, ‘जथाभावी विदेश भ्रमणको अन्त्य गर्छौं । जसले विदेश भ्रमण गरेर आयो । फर्किएर आएपछि त्यसको आउटपुट अनिवार्य रुपमा दिनपर्छ ।’

मन्त्री बस्नेतले दैनिक २० घण्टा समय स्वास्थ्य मन्त्रालयको कामलाई दिने बताएका छन् ।
‘मलाई दिनको चार घण्टा सुत्न दिनुहोस् । खाना खान त म बिहान सात–आठ बजे नै खाइसक्छु । अरू सबै समय मन्त्रालयको काममा केन्द्रित रहन तयार छु । मन्त्रालयका कर्मचारीको मलाई साथ चाहिन्छ’, मन्त्री बस्नेतले भनेका छन् ।
मन्त्री बस्नेतले स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् । उनले नियमित सेवाका अलावा कोरोना, डेंगु लगायतका सरुवा रोग फैलिन नदिन प्रदेश र स्थानीय तहका साथै दातृ निकायको समन्वयमा स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
उनले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने र अस्पतालहरूमा उपचार सेवा र उपलब्ध साधन स्रोतको अधिकतम उपयोग भए नभएको अनुगमन गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति बनाउने निर्णय पनि गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया