भ्रष्टाचारबारे कांग्रेसका खतिवडाले सुनाए संसदमै पकेटमारको कथा
काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य रामहरि खतिवडाले नीतिगत भ्रष्टाचार अन्त्यका लागि ऐन, कानून बनाउनुपर्ने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट राष्ट्रिय सभाको सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७० माथि विचार गरियोस् भन्ने प्रस्तुत प्रस्तावको छलफलमा सहभागी हुँदै खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९३ प्रतिशत भ्रष्टाचारका मुद्दा हार्ने गरेको बताए ।
उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग अर्को भ्याटको संस्था बनेको छ । प्रधानमन्त्री कार्यालयमा अहिले पनि प्रधानमन्त्री कसको समर्थनमा ? कसको विरोधमा हुनुहुन्छ भन्ने कुरा भएन ।’
उनले प्रश्न गर्दै भने, ‘सम्पत्ति शुद्धीकरण विभाग किन प्रधानमन्त्रीको मातहतमा राख्नु पर्यो ? किन राजस्व अनुसन्धान विभाग राख्नु पर्यो ? प्रधानमन्त्री देशकै कार्यकारी होइन ? आँखा पहिला त्यो ठाउँमा पुग्ने पद्दतीको विकास गरौँ ।’
उनले भने, ‘बजेट भाषण गर्दैदेखि नीति, कार्यक्रम फेर्दैदेखि नीतिगत रुपमा हुने भ्रष्टाचार अन्त्य गर्ने वातावरण बनोस् ।’
खतिवडाले छोटो कथा सुनाउँदै भने, ‘१५औँ शताब्दीमा बेलायतमा पकेटमारलाई मृत्युदण्ड दिने चलन रहेछ । एउटा पार्कमा जम्मा गर्ने, झुण्डाएर मृत्युदण्ड दिने । त्यो पार्कमा सबै मान्छे पकेटमार कस्तो रहेछ भनेर हेर्न जाँदा रहेछन् । तर, सबैभन्दा धेरै पकेट त्यही बेला मारिदो रहेछ ।’
उनले भने, ‘चीनमा एउटा भनाइ छ । जति कानून बनायो त्यति अपराध हुन्छ । र, कानूनभन्दा धेरै अपराध हुँदै जान्छ । नेपालमा त्यस्तै अवस्था सिर्जना हुन थाल्यो । भ्रष्टाचार निवारण भन्ने, सबैभन्दा धेरै जसले त्यो मन्त्र जप्छ ती व्यक्तिबाट सबैभन्दा धेरै भ्रष्टाचार हुन थालेको आभाष हामीलाई हुन थालेको छ ।’
खतिवडाले भने, ‘भ्रष्टाचार सबैभन्दा ठूलो रोग नै बन्न थाल्यो । हामीले यती हेर्यौँ । ओम्नी हेर्यौँ । वाईडबडी हेर्यौँ । सबै को–को हो ठूला–ठूला जति सबै मिलेका छन् भन्ने हल्ला बाहिर आउँछ ।’
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन गरेका छौँ । अख्तियारले मुद्धा लगाएका ९३ प्रतिशत अहिले सरकारले हारेको छ’, उनले भने, ‘अनि हामी सबैभन्दा बढि लोकतन्त्र, गणतन्त्र, सबै प्राप्ति गरिसकेपछि पनि सबैभन्दा धेरै असार महिनाको त्यो पनि २४ गतेपछि अर्थ मन्त्रालयले काटेको चेकको विवरण हेर्नुस् एक दिनमा ३३/३५ खर्बको रुपमा चेक काट्ने पद्दतिको विकास भएको छ ।’
‘यसलाई निराकण गर्ने उपायहरू के छन् ? हामी सदनमा बारम्बार छलफल गर्छौं । हामीले पद्दतिको विकास गर्यौं भन्छौँ । तर, सबैभन्दा धेरै त्यहिँबाट भ्रष्टाचारको सुरुवात भएको छ’, उनले भनेका छन् ।
‘हामीले विदेशमा बसेका नेपालीहरूलाई लगानीको वातावरण बनाउन नेपाल ल्याउनुपर्यो भन्न लागेका छौँ । उनीहरूलाई सहजीकरण गर्नुपर्यो’, खतिवडाले भने, ‘नेपालमा व्यवस्थित गर्नुपर्यो भनेर लागेका छौँ । लगानी आउनुभन्दा पहिला के ? सोँच्छौं पार्टीलाई कति सहयोग हुन्छ ? साथीलाई कति हुन्छ भनेर सोध्छौँ ।’
‘यसको निराकरण गर्न हामीले सुरुदेखि मुलुकलाई एउटा पद्दतिमा लैजान सकेनौँ भने नेपाल अहिले जुन अवस्थामा छ त्योभन्दा तल्लो दिनानुदिन जाने सम्भावना बढेर गएको छ’, कांग्रेसका सांसद खतिवडाले भनेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया