संसद, मन्त्री, सरकार र देशै किन्छु भन्ने विवादास्पद व्यापारीबाट सरकारलाई बचाऔं : खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद तथा केन्द्रीय सदस्य रामहरि खतिवडाले विवादास्पद व्यापारीहरूबाट मुलुकलाई मुक्त बनाउन आग्रह गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद खतिवडाले संसद, मन्त्री, सरकार र देश नै किन्छु भन्ने विवादास्पद व्यापारीहरूले स्टक एक्सचेञ्जको अनुमति लिन लागेको भनेर विरोध जनाए ।
उनले भने, ‘बजारमा एउटा कुरा आएको छ । नयाँ स्टक एक्सचेञ्ज सरकारले दिन लागेको छ । त्यसमा पनि विवादास्पद व्यापारीहरू रहेका छन् ।’
‘कहिले सीसी क्यामरा काट्नेहरू, सम्पत्ति सुद्दीकरणमा पर्नेहरू अहिले हिमालय एक्सचेञ्जका नाममा स्टक एक्सचेञ्ज लिन लाग्दै छन् भन्ने सुन्नमा आएको छ’, उनले भने, ‘सरकारले यस्ता विवादास्पद व्यापारीहरूसँग सर्तक रहनुपर्छ ।’
कांग्रेसका सांसद खतिवाडाले भने, ‘कहिले संसद किन्छु भन्ने, मन्त्री किन्छु भन्ने, कहिले मन्त्रालय किन्छु भन्ने, हुँदाहुँदा देश नै किन्छु भन्ने विवादास्पद व्यापारीबाट सरकारलाई मुक्त हुनका लागि पनि अनुरोध गर्न चाहन्छु ।’
यसैबीच, सांसद खतिवडाले भूकम्पबाट लाभ लिन बाँकी रहेका घरधनी र व्यक्तिहरूलाई छिटो रकम वितरण गर्न माग गरेका छन् । उनले पहिलो किस्ता पाए पनि धेरै लाभग्राहीहरूले दोस्रो र तेस्रो किस्ता नपाएको बताएका छन् ।
उनले भने, ‘भूकम्प आएको पनि ८ वर्ष भएको छ । ८ लाख २९ हजार ६ सय ९७ जना घरधनी लाभग्राहीहरूले पैसा लिनुभयो । ३२ हजार २ सय २२ जना सुनुवाई भएर बसेको बताएका छन् ।’
खतिवडाले सुरुको किस्ता लिएका तर दोस्रो र तेस्रो किस्ता लिन नपाएका ६ हजारभन्दा धेरै व्यक्ति रहेको बताएका छन् । उनले हजारौं लाभग्राहीले ८ वर्ष वित्दा पनि रकम नपाएको भन्दै चिन्ता जनाएका छन् ।
खतिवडाले खरको छानो हटाउने निर्णय सरकारले गरेपनि ओखलढुंगामा धेरै घरहरूमा खरको छानो रहेको बताए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया