सिनामंगलबाट दुई जना मानिस पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीको लागि ईटाली, दक्षिण कोरिया, न्युजिल्याण्ड तथा पोर्चुगल लगायतका देशहरूमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले नगद ६६ लाख ३७ हजार रूपियाँ ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ टाउनप्लानिङस्थित ग्रिनलिफ इन्टरनेशनल कन्सलटेन्सी प्रालि र काठमाडौंको ठमेलस्थित नेपाल स्नोफल माउण्टेन्स ट्रेक एण्ड एक्सपेडिसन प्रालिका संचालक कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–५ घर भएका २८ वर्षीय सुधनकुमार शाही र मेनेजिङ डाईरेक्टर सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–१ घर भई हाल काठमाडौंको टोखा नगरपालिका ग्रिनल्याण्ड बस्ने ३१ वर्षीय अनिल श्रेष्ठ रहेका छन् ।
उनीहरूलाई २२ जना पीडितलाई सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिन्छु भनेर ठगी गरेको आरोप छ ।
उनीहरूले मासिक १ लाख रुपियाँभन्दा बढी कमाई हुन्छ र प्रतिव्यक्ति ५ लाख रूपियाँ लिएका थिए ।
प्रलोभनमा पारी पटक पटक गरी उक्त रकम ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया