मन्त्री शर्माद्वारा सूचना प्रविधिमा लगानी गर्न गैरआवासीयहरूलाई आग्रह
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको समृद्धिको आधार सूचना प्रविधि बन्नसक्ने बताएकी छिन् ।
अमेरिकास्थित नेपाली दूतावास र विश्व बैंकले आयोजना गरेको कनेक्टिङ नेपाल विथ ग्लोबल डिजिटल इकोनोमी विषयक कार्यक्रमलाई आइतबार राति भर्जुअल सम्बोधन गर्दै शर्माले संसारभर रहेका गैरआवासीय नेपालीहरूलाई यस क्षेत्रमा लगानी गर्न आग्रह गरेकी छिन् ।
शर्माले नेपालको विकास प्रक्रियामा सूचना प्रविधिको क्षेत्रमा विशेषज्ञता हासिल गरेका विज्ञहरू तथा ब्यवसायीहरूको सहयोगबाट देशको अर्थन्त्रलाई नयाँ उचाइँमा पुर्याउन, रोजगारी सिर्जना गर्न यस क्षेत्रमा बजारको मागअनुसार अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय जनशक्ति विकास र आपूर्ति आवश्यक रहेको बताएकी छिन् ।
नेपालमा यसको लागि अनुकुल वातावरण तयार गर्न सरकार क्रियाशील रहेकाले लगानी तथा सहयोगका लागि उनले आग्रह गरेकी छिन् ।
विदेशमा आर्जन गरेको ज्ञान, सीप, सक्षमता र पूँजीको परिचालन गरी अन्य देशहरूले विकासमा फड्को मारिसकेको स्मरण गर्दै मन्त्री शर्माले नेपालमा भने विद्यमान स्रोत साधनलाई यथोचित परिचालन गर्न नसक्दा पछाडि परिरहेको बताएकी छिन् ।
उनले इन्टरनेटलाई आवश्यक सेवाको सूचिमा समावेश गरिएको जानकारी दिंदै इन्टरनेटको फोरजी सेवा ७७ वटै जिल्लामा संचालनमा ल्याइको, ७४३ स्थानिय तह, पाँच हजार तीन सय १८ माध्यमिक विद्यालय र चार हजार दुई सय ४९स्वास्थ्य संस्थामा इन्टरनेट ब्रोडब्याण्ड सेवा जडान गरिएको पनि बताएकी छिन् ।
नेपालको अर्थतन्त्रको आधार कृषि, पर्यटन र जलबिद्युत भएपनि आजको युगमा अर्थतन्त्रको समग्र क्षेत्रमा सूचना प्रविधिको विकास र प्रयोगबाट नै नेपालको समग्र अर्थतन्त्रको द्रुततर विकासमा सकारात्मक प्रभाव रहेको उनले बताएकी छिन् ।
सरकार, निजी क्षेत्र, विदेशमा रहेका गैरआवासीय नेपाली, बिदेशी लगानीकर्ता र विकास साझेदारहरूको सहकार्य आवश्यक रहकोमा मन्त्री शर्माले बताएकी छिन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया