काठमाडौंमा तीन ठाउँमा दुर्घटना, ३ सहित सात जनाको मृत्यु

काठमाडौं । काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा भएका अलग–अलग सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित सडकमा बागमती प्रदेश ०२–००२२ प २६८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना भएको छ । दुर्घटना हुँदा सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका–४ घर भएका ३५ वर्षीय चालक हरिशरण अधिकारीको मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी, काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सडकमा बागमती प्रदेश ०३–००१ ख १७१५ नम्बरको ट्रक र बीए एए ९८३५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक अर्घाखाँची छत्रदेव गाउँपालिका–५ घर भई काठमाडौं सतुङगल बस्ने ३४ वर्षीय भुपती पाण्डेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित सडकमा बा.१९ च ३३०८ नम्बरको हात्ती गाडीले बागमती प्रदेश ०२– ०४० प २१०८ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सुर्खेत भेरीगंगा नगरपालिका–१० घर भई काठमाडौं बस्ने २७ वर्षीय उपेन्द्र बुढाको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, कपिलवस्तुको बाणगंगा नगरपालिका–४ ठाकुरापुरस्थित सडकमा लु.७९ प ३६६० नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५४ वर्षीया लक्ष्मी न्यौपानेको आइतबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको युनाईटेड अस्पताल ठाकरापुर हुँदै चौराहा अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको फेटा गाउँपालिका–१ भलुहि बजारस्थित सडकमा स.१ ह ७०८ नम्बरको अटो अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार भारत मोतीहारी पूर्वी चम्पारण कोरिया टोल रक्सौल बस्ने आतित्य श्रीवास्तवको छोरी ३ वर्षीया परी कुमारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जनाको कलैया अस्पतालमा उपचार भइरहेको छ । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कास्कीको पोखरा महानगरपालिका–३३ सुसाने पहरास्थित सडकमा ना.६ त ८१८६ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने १९ वर्षीय अनिल पुनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

चितवनको ईच्छाकामना गाउँपालिका–४ पृथ्वीराजमार्गको लेवटारस्थित सडकमा युपी ७० डीटी ६०५५ नम्बरको ट्याङकर अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका १ जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटना घाइते भएका १ जनालाई ट्रमा सेन्टर कुरिनटार हुँदै थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ पठाइएको छ ।

Published : Monday, 2023 April 3, 5:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया