आईजीपी सिंहद्वारा एक नं. प्रदेशमा प्रहरीका लागि अस्पताल उद्घाटन
विराटनगर । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले मोरङको बेलबारी नगरपालिका–३ स्थित पुरानो ईलाका प्रहरी कार्यालयको भवनमा संचालित १ नम्बर प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरेका छन् ।
बुधबार आयोजित कार्यक्रमबीच सिंहले अस्पतालको उद्घाटन गरेका हुन् ।
सिंहलगायत अन्य अथितिहरूले अस्पतालको साथै उपलब्ध स्वास्थ्य उपकरणहरूको अवलोकन गरेका छन् ।
आईजीपी सिंहले १ नम्बर प्रदेश प्रहरी अस्पतालको शुभारम्भले यस प्रदेशमा रहेका पूर्व प्रहरी कर्मचारी, अमर, अशक्त प्रहरी कर्मचारी तथा बहालवाला प्रहरी कर्मचारीका साथै आश्रित परिवार समेतको स्वास्थ्य सेवामा पहुँच पुग्ने बताएका छन् ।
प्रहरी अस्पतालको निर्माण र सेवा शुभारम्भले स्थानीयवासीले समेत सेवा पाउने हुँदा सबै किसिमका बिरामीहरूलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन कार्यरत प्रहरी कर्मचारीहरूलाई सिंहले निर्देशन दिएका छन् ।
नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंका मेडिकल डाईरेक्टर प्राबिधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले सीमित श्रोत र साधनकाबीच प्रदेश प्रहरी अस्पतालको अवधारणा ल्याई सेवा शुभारम्भ गरिएको बताएकी छिन् ।
उनले अबका दिनमा सेवा संचालनमा हरेक क्षेत्रको सहयोग अपरिहार्य रहेको उल्लेख गरेकी छिन् ।
बेलवारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले नगर क्षेत्रमा प्रहरी अस्पतालको निर्माणले नगरवासीहरू उत्साहित रहेको बताउँदै हरेक नागरिकको स्वास्थ्य सेवामा प्रहरी अस्पतालको अहम् भूमिका रहने र अस्पतालको स्तरोन्नति लगायतका क्षेत्रमा सहयोग र समन्वयको लागि नगरपालिका सदैव तत्पर रहेको उल्लेख गरेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले स्वागत मन्तब्य व्यक्त गर्दै अस्पतालबाट प्रभावकारी स्वास्थ्य सेवा प्रदान हुनेमा बिश्वस्त रहेको बताएका छन् ।
उक्त अस्पतालका प्रहरी नायव उपरीक्षक डा. सरोज सिंहले अस्पतालको सेवा सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्दै तत्काल ३ जना बिशेषज्ञ चिकित्सकसहित १० जनाको प्राबिधिक टोलीले ओपिडि तथा ईमरजेन्सी लगायतका सेवा प्रदान गर्ने जानकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, प्रदेशस्थित अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, बिभिन्न सरकारी तथा गैह्रसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू, संचारकर्मी तथा स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच, प्रहरी महानिरीक्षक सिंहले १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र गोठगाउँ मोरङको बुधबार निरीक्षण भ्रमण गरेका छन् ।
मोरङको सुन्दरहरैचा नगरपालिका–८ गोठगाउँमा अवस्थित उक्त तालिम केन्द्रको भ्रमणको क्रममा उहाँले तालिम केन्द्रको आवास, मेश तथा भौतिक पूर्वाधारको अवलोकन गरेका हुन् ।
निरीक्षण तथा अवलोकन पश्चात कार्यरत प्रहरी कर्मचारीहरूलाई उनले आवश्यक निर्देशन दिएका छन् ।
उक्त अवसरमा तालिम केन्द्रका सह–समादेशक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले तालिम केन्द्रको बारेमा प्रस्तुतीकरण गरेका छन् ।
सिंहले आसरा सुधार केन्द्र पानवारी धरानकोसमेत आजै निरीक्षण भ्रमण गरेका छन् ।
उनले केन्द्रको भौतिक संरचना, मेश, उपचाररत सदस्यहरूको आवास र सरसफाईको अवस्थाको समेत निरीक्षण गरेका छन् ।
निरीक्षणको क्रममा उनले उपचाररत सदस्यहरूलाई लागूऔषधबाट मुक्त हुन मनैबाट प्रयास गर्नुपर्ने लगायत उत्प्रेरणात्मक सन्देश दिएका छन् ।
उनले केन्द्रमा उपचाररत सदस्यहरूलाई सौहार्दपूर्ण वातावरणमा उपचार गरी समाजमा पुनर्स्थापना गर्नु केन्द्रको मुख्य लक्ष्य रहेको हुँदा उच्च स्तरीय उपचार पद्धतिद्वारा उपचार गर्न परामर्शदाताहरूलाई अनुरोध गरेका छन् ।
आसरा सुधार केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरूलाई दत्तचित्त भै सुधार केन्द्रमा कार्यरत रहन समेत उनले निर्देशन समेत दिएका छन् ।


बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया