नेपाललाई भारतद्वारा २० वटा मिर्गौला डायलाइसिस मेसिन प्रदान
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारलाई २० वटा मिर्गौला डायलाइसिस मेसिन हस्तान्तरण गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा भारतीय राजदूत श्रीवास्तावले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीलाई मिर्गौला डायलाइसिस मेसिन हस्तान्तरण गरेका हुन् ।
भारतीय जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनतालाई उपहार स्वरुप प्रदान गरिने २०० वटा यस्ता मेसिनमध्ये २० वटा हस्तान्तरण गरिएको भारतीय राजदूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
यी मेसिनसहित सबै सम्बन्धित उपकरण पनि उपलब्ध गराइएको छ । बाँकी मेसिनहरू चाँडै उपलब्ध गराइनेछ ।
राजदूत श्रीवास्तवले भारत र नेपालबीच विशेष गरी स्वास्थ्य क्षेत्रमा लामो समयदेखि रहँदै आएको विकास सहकार्यबारे चर्चा गरेका छन् ।
यी मेसिनहरूको हस्तान्तरणले स्वास्थ्य पूर्वाधारको विकासमा नेपाल सरकारले गरेको प्रयासमा भारतले पु¥याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको बताएका छन् ।
मन्त्री गिरीले स्वास्थ्य सुविधालाई नेपाली जनतामाझ विस्तार गर्न यो मिर्गौला डायलाइसिस मेसिनलगायत भारत सरकारले स्वास्थ्यको क्षेत्रमा गर्दै आएको विकास सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा सहकार्य भारत–नेपाल विकास साझेदारीको महत्वपूर्ण पक्ष रहेको भारतले जनाएको छ ।
विभिन्न जिल्लामा सञ्चालित स्वास्थ्यसँग सम्बन्धित झन्डै ५० वटा उच्च प्रभाव सामुदायिक परियोजनाका अतिरिक्त काठमाडौंस्थित नेपाल–भारत मैत्री आपतकालीन तथा ट्रमा सेन्टर, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौंस्थित वीर अस्पतालको ओपीडी कम्प्लेक्स जस्ता प्रमुख स्वास्थ संस्थाहरू भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएका हुन् ।
भारतले नेपालका विभिन्न भूकम्प प्रभावित जिल्लाहरूमा १३२ स्वास्थ्य चौकीहरूको निर्माणका लागि भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत ५० मिलियन अमेरिकी डलर प्रदान गरेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया