आईजीपी सिंहद्वारा काठमाडौं उपत्यकाका प्रहरीका हाकिमहरूलाई कडा निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले कुनै पनि अपराधका घटना हुन नदिन प्रभावकारीरूपमा प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् ।

बुधबार सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् सोही कार्यालयअन्तर्गतका प्रहरी कार्यालयका प्रमुखहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा निर्देशन दिँदै अपराध नियन्त्रण गर्न अझै बढि सक्रिय भई आ–आफ्नो जिम्मेवारी वहनका साथ कार्यसम्पादन गर्नुपर्ने बताएका छन् ।

आमनागरिकलाई राज्यको उपस्थितिको अनुभूति दिने संस्था भनेको प्रहरी नै भएको बताउँदै सिंहले भने, ‘हालैका घटनाको समीक्षा गर्दै आगामी दिनमा हुनसक्ने घटनाको पूर्वानुमान गरी तयारी हालतमा रहन र आवश्यकता अनुरूप कानूनसम्मत तरिकाले बल प्रयोग गर्न नहिच्किचाउनु ।’

घटनालाई गम्भीरताका साथ लिएर संलग्नको पहिचान गरी कानूनी दायरामा ल्याउन समेत उनले निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक सिंहले ट्राफिक चेकजाँचलाई अझ व्यवस्थित गराउनुपर्ने उल्लेख गरेका छन् । उनले आर्थिक पारदर्शीतामा शून्य सहनशीलताको नीतिलाई अबलम्बन गरी सबै प्रहरी कर्मचारीले अत्यन्तै व्यवसायिक भएर जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन् ।

फरार अभियुक्त पक्राउलाई अभियानकै रूपमा संचालन गर्नुपर्ने तथा अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर कार्य गर्नुपर्ने समेत आईजीपी सिंहले बताएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले
संगठन प्रमुखबाट प्राप्त निर्देशन कार्यान्वयनका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् सोही कार्यालय अन्तर्गतका प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी प्रतिवद्ध रहेको बताएका छन् ।

यस आर्थिक वर्षमा फरार अपराधी पक्राउमा उल्लेखनीय प्रगती भएको चर्चा गर्दै लोहनीले उपत्यकास्थित प्रहरी वृत्त एवम् प्रभागहरूको सुधारको लागि उपत्यका प्रहरी कार्यालयबाट आवश्यक जनशक्ति परिचालन गरिएको र हालैका घटनामा संलग्नलाई कानूनी दायरमा ल्याइने बताएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् सोही कार्यालयअन्तर्गतका प्रहरी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2023 February 15, 1:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया