अमेरिकाद्वारा नेपाल प्रहरीको प्रशंसा, आईजीपी सिंह र राजदूत थम्पसनबीच भेटवार्ता
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसँग नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनले भेट गरेका छन् ।
बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालमा सिंह र थम्पसनबीच शिष्टाचार भेटघाट भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी राजदूत थम्पसनले हालै नेपालमा सम्पन्न आम निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले निर्वाह गरेको विशेष भूमिकाको प्रशंसा गरेका छन् ।
नेपाल प्रहरीमा दक्ष जनशक्ति उत्पादन गर्न तालिमको व्यवस्थाको साथै प्रविधिको विकास, साईबर अपराध नियन्त्रण एवम् महिला तथा बालबालिकाको क्षेत्रमा अमेरिकी सरकारले सहयोग गर्ने प्रतिबद्धता राजदूत थम्पसनले गरेका छन् ।
नेपाल प्रहरीले सार्वजनिक शान्ति कायम राख्न अपनाएको नीतिले अमेरिकी नागरिकले नेपालमा आफूलाई सुरक्षित ठानेको उल्लेख गर्दै राजदूत थम्पसनले यसका लागि नेपाल प्रहरीलाई धन्यवाद दिएका छन् ।
आईजीपी सिंहले अमेरिकी सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् ।
आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने र आपसी सम्बन्ध सुमधुर हुने विश्वास सिंहले व्यक्त गरेका छन् ।
आईजीपी सिंह र राजदूत थम्पसनबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल समेत भएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया