राप्तीको बसन्तापुर र खुरुरियामा कांग्रेसद्धारा गठबन्धनको प्रचार, उम्मेदवारको खोजी

मसुरिया । दाङको राप्ती गाउँपालिका वडा नं. ३ मा नेपाली कांग्रेसले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने क्रममा समानुपातिकतर्फ चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरेका छन् ।

बुधबार खुरुरिया र बसन्तापुरमा कांग्रेसका स्थानीय अगुवा नेताहरुसँगको चुनावी अन्तरक्रियामा कांग्रेसको प्रत्यक्षतर्फ उम्मेदवार नभएका क्षेत्रमा समानुपातिकतर्फ रुखमा मतदान गर्न सिकाउनुपर्ने नेताहरुले बताएका छन् ।

कांग्रेसका नेता एवम् वडा नं. ३ का चुनावी संयोजक दुर्योधन पाण्डेले दाङ क्षेत्र नं. १ र प्रदेश सभा १ मा कांग्रेसको प्रत्यक्षतर्फ उम्मेदवार नरहे पनि मतदाताले चुनाव चिन्ह रुखमा मतदान गर्नुपर्ने बताए । उनले भने, ‘लोकतान्त्रिक वाम गठबन्धन भएका कारण दाङ क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरी कांग्रेसको पनि उम्मेदवार हो ।

उहाँलाई चुनाव चिन्ह कलममा मतदान गर्नुपर्छ । प्रदेश सभा १ मा माओवादी केन्द्रका ईन्द्रजीत चौधरी पनि हाम्रो उम्मेदवार हो । उहाँलाई गोलाकारभित्रको हँसिया हथौडामा मतदान गर्नुपर्छ । प्रत्यक्षमा उहाँहरुलाई मतदान गर्नुपर्छ । समानुपातिकमा कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्नुपर्छ ।’

कांग्रेसका वडा नं. ३ का वडा सभापति श्रीधर खत्रीले समानुपातिकतर्फ दुई र प्रत्यक्षतर्फ दुई वटा मत पत्र हुने भन्दै अलमलमा नपरेर मतदान गर्नुपर्ने बताए ।

कांग्रेसका बसन्तापुरका नेता बुद्धिराम चौधरीले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आफ्नो सबै सहयोग रहने बताएका छन् ।

कांग्रेसका नेता हरि भुसालले थोरै समय रहेको भन्दै दाङ क्षेत्र नं. १ मा चुनाव चिन्ह कलम र प्रदेश सभा १ मा गोलाकारभित्रको हँसिया हथौडामा मतदान गर्न आग्रह गरेका छन् । उनले समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभाको दुई वटा मत पत्रमा रहेको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरेका छन् ।

कांग्रेस नेता सीताराम गिरीले पनि मतदातालाई मतदान गर्ने कार्य राम्रोसँग सिकाउनुपर्ने बताए । उनले मतदाता शिक्षाको अभावले मतपत्र बदर हुने अवस्था आउन नहुने बताएका छन् ।

प्रतिनिधि सभातर्फका उम्मेदवार एवम् एकीकृत समाजवादीका नेता मेटमणि चौधरी चुनावी प्रचारका लागि अहिलेसम्म बसन्तापुरमा गएका छैनन् । बसन्तापुरका मतदाताले शहरी विकास मन्त्री समेत रहेका चौधरीलाई प्रत्यक्ष रुपमा भेटेर आफ्ना मागहरु राख्न चाहेका छन् ।

Published : Wednesday, 2022 November 16, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया