रुपन्देही-३ मा राप्रपाभित्र पहिरो, १५० नेतासहित केन्द्रीय सदस्य नै कांग्रेसमा प्रवेश

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय सदस्य रामनवल चौहान नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

आइतबार रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ का बासिन्दा चौहानलाई गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यता प्रदान गरेका हुन् ।

खाण लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं. ३ मा प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका छन् ।
चौहान राप्रपाका उम्मेदवार दीपक बोहोराका विश्वासपात्र मानिन्छन् ।

चौहान राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको जिल्ला अध्यक्ष भएरसमेत काम गरिसकेका छन् ।

चौहानसँग राप्रपाको रुपन्देही क्षेत्र नं. ३ मा राम्रो पकड भएका नेता ओमकुमार कहार पनि कांग्रेसमा प्रवेश गरेका छन् । उनीसहित एक सय बढी युवाहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गरेपछि चौहानले आफूलाई कांग्रेसको नीति, सिद्धान्त र जोजना मन परेर पार्टी प्रवेश गरेको र क्रियाशील भएर लाग्ने बताएका छन् ।

खाणले चौहानलाई पार्टीले उचित जिम्मेबारी दिने बताएका छन् ।

Published : Sunday, 2022 November 13, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया