देशलाई खरानी बनाउने ओलीलाई परास्त गरौँ : तरुण अध्यक्ष गुरुङ

कुश्मा । नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले लोकतन्त्रको आन्दोलनको उपलब्धिले प्राप्त गरेको उपलब्धि बचाउन गठबन्धनले जित्नुपर्ने बताएका छन् ।

शनिबार नेपाल तरुण फलेवास नगर समितिको राहलेमा आयोजित तरुण भेलामा गुरुङले देशको संविधान र प्रणालीलाई एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले खरानी बनाउन खोज्दा गठबन्धनले बचाएको बताए ।

उनले व्यवस्था बचाउन लोकतान्त्रिक वाम गठबन्धनले जित्नुपर्ने बताएका छन् ।

गुरुङले २००३ देखि लोकतन्त्र र संसदीय राजनीति बचाउन नेपाली कांग्रेस लगायतका दलले लडाइँ लड्दै आएको बताए ।

अहिले हुन लागेको निर्वाचन लोकतन्त्र रोज्ने र ओलीको निरकुंशतन्त्र रोज्ने भन्ने जनमत संग्रह जस्तै रहेको गुरुङले बताएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन ईतिहाँसको कठिन घडीमा हुन लागेको उनले बताएका छन् ।

गठबन्धनलाई जिताएमा देशले नयाँ ईतिहाँस रच्ने तरुण अध्यक्ष गुरुङले बताएका छन् ।

अहिले स्वतन्त्र उम्मेदवारको नाममा राजनीतिमा कुनै बलिदान नगरेका व्याक्ति उब्जिएर राजनीतिक व्यवस्थामा धावा बोल्ने काम गरिरहेकोमा उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

‘कहाँबाट आयो यो घण्टी र लौरो ?’, गुरुङले भने, ‘यिनीहरु बिदेशी संस्थाका दलाल हुन् ।’

अध्यक्ष गुरुङले भने, ‘रवि लामिछानेले गरेका विभिन्न रचनात्मक कामको मैले सम्मान गर्छु । उनको राजनीतिक आन्दोलनमा केहि भूमिका छभने भन्नुस् ।’

काठमाडौं क्षेत्र नं. १ मा प्रतिनिधि सभाका उम्मेदवार रविन्द्र मिश्रप्रति गुरुङले कटाक्ष गरेका छन् ।

‘रविन्द्र मिश्र राजा बोकेर चुनावमा आएका छन्’, गुरुङले भने, ‘चिहानमा पुगेको राजालाई बोकेर मिश्र कहाँ जान खोजेका हुन् ?’

गुरुङले ज्ञानेन्द्र शाही विदेशी शक्तिबाट परिचालित एजेण्ड भएको बताए ।

स्वतन्त्रदेखि विभिन्न नागरिक समाजका अगुवा बनेर आएका देखि खड्गप्रसाद ओलीसम्मका गठबन्धनलाई उनले अपवित्र गठबन्धन भनेका छन् ।

ओलीले गरेको गठबन्धन राजा बोक्ने, एक मधेश एक प्रदेशको माग राख्ने उपेन्द्र यादव र पृथकतावादी आन्दोलनका अगुवा सीके राउत जस्तासंग रहेको भन्दै गुरुङले ओली यस्ता समूहसंग मिलेर देश बर्बादीको खाडलमा हाल्न उद्दत रहेको गुरुङले बताए ,
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति डा.चुडामणि शर्मा र शिवप्रसाद सुवेदी, नेपाली कांग्रेस प्रदेश सदस्य टोपबहादुर गुरुङ, जिल्ला सदस्य तथा महाधिवेशन प्रतिनिधि शिव शर्मा अधिकारी, महाधिवेशन प्रतिनिधि राधाकुमारी कुँवर क्षेत्री, महाधिवेशन प्रतिनिधि मुना भुसाल, महाधिवेशन प्रतिनिधि सनम बेगम, युवा नेता मिलन सुवेदी, नेपाली कांग्रेस प्रदेश २ का उपसभापति लक्ष्मी शर्मा गौँडेल, नेपाल तरुण दलका जिल्ला कार्यसमितिका सचिव सागर भुसाल, फलेवास नगरपालिका ६ कार्यसमिति सदस्य पदमपाणि भुसाल, नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष सन्तोष पाठक, विद्यार्थी नेता राजिव लामिछाने, सौगात पौडेल, टंक सुवेदी, संजीव लामिछाने, धनबहादुर कुँवर लगायतले धारणा राखेका थिए ।

तरुण दलका फलेवास नगर अध्यक्ष दिनेश लामिछानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत यामन कुँवरले गरेका थिए ।

Published : Saturday, 2022 November 12, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया