गृहमन्त्री खाणलाई बामदेवको एकता अभियानको साथ

भैरहवा । पूर्वमन्त्री एवम् राष्ट्रिय सभाका सांसद बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई सहयोग गर्ने भएको छ ।

शनिबार उक्त पार्टीले भैरहवामा पत्रकार सम्मेलन गरी आगामी मंसिर ४ को निर्वाचनमा गृहमन्त्री समेत रहेका उम्मेदवार खाणलाई सहयोग गर्ने जनाएको हो ।

अभियानले लोकतन्त्र र मुलुकको परिवर्तनमा योगदान दिएको कांग्रेस र यसका नेता गृहमन्त्री खाणलाई सहयोग गर्ने निर्णय गरेको पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश इन्चार्ज महेन्द्र अर्यालले जानकारी दिए ।

उनले ठूला परिवर्तनमा सहयोद्धा भएर काम गरेका खाण र कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने नीतिअनुसार यसपटक रुपन्देहीको क्षेत्र नम्बर ३ मा सहयोग गर्ने निर्णय भएको बताए ।

उनले क्षेत्र नम्बर ३ मा आफूहरुको करिब २ हजार २ सय मत रहेको जनाउँदै उक्त मत खांणको पक्षमा दिने बताए ।

कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले मुलुकको आवश्यकतालाई हेरेर आफूहरुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।

खाणले यो निर्वाचनलाई सफलता प्रदान गर्न एकता अभियानले गरेको सहयोग महत्वपूर्ण हुने समेत बताए ।

Published : Saturday, 2022 November 12, 8:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया