दाङ-२ मा गठबन्धनका उम्मेदवारलाई भव्य स्वागत, शर्मा-खनाल-न्यौपानेको पक्षमा जबरजस्त माहोल

घोराही । दाङको क्षेत्र नं. २ मा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारहरूलाई मतदाताले स्वागत गर्नुका साथै जितको शुभकामना दिएका छन् ।

बिहीबार दाङ–२ को प्रदेश सभातर्फ १ को बंगलाचुली गाउँपालिका, घोराही उप–महानगरपालिकाका विभिन्न स्थानमा भएका चुनावी कार्यक्रमहरूमा मतदाताले गठबन्धनका उम्मेदवारहरूलाई जितको अग्रिम शुभकामना दिएका हुन् । मतदाताहरूले उम्मेदवारहरूलाई फूलमालाले भव्य स्वागत गरेका छन् ।

केही स्थानमा एमालेसहित विभिन्न दलका स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश समेत गरेका छन् ।

दाङ–२ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रकी नेतृ रेखा शर्मा उम्मेदवार छिन् ।

प्रदेश सभातर्फ १ मा लुम्बिनी कांग्रेसका उप–सभापति राजु खनाल उम्मेदवार छन् ।

प्रदेश सभातर्फ २ मा कांग्रेसका युवा नेता प्रचण्डबिक्रम न्यौपाने उम्मेदवार छन् ।

शर्मा, खनाल र न्यौपानेले आफ्नो प्रचार प्रसारलाई मतदाताको गाउँटोल र घरघरसम्म लगेका छन् ।

गठबन्धनले प्रचार प्रसारमा स्थानीय नेताहरू परिचालन गरेका छन् ।

यसैबीच, प्रदेश सभा १ का उम्मेदवार कांग्रेस नेता खनालले पिछडिएको क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढ्ने बताएका छन् ।

चुनावी कार्यक्रमहरूमा खनालले पहाडी क्षेत्रको विकासको हिसाबले पछाडि परेको भन्दै आफूहरूले विशेष प्राथमिकता दिएर अगाडि बढ्ने बताए ।

‘हामी आफ्नो क्षेत्रको समस्याका बारेमा जानकार छौं । त्यसको समस्याको समाधान गर्न लागि पर्नेछौं’, खनालले भनेका छन् ।

खनालले दाङ–२ र विशेष गरेर बंगलाचुली गाउँपालिकाको विकासमा विगतका वर्षहरूमा पनि आफूले धेरै काम गरेको बताएका छन् ।

आउँदा दिनमा पनि बंगलाचुलीको विकासमा निरन्तरता दिने खनालले बताएका छन् ।

उप–सभापति खनालले देशका लागि गठबन्धन आवश्यक रहेकाले गठवन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गरेका छन् ।

Published : Thursday, 2022 November 10, 7:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया