ललितपुर–१ मा एमालेका लोकप्रिय नेता कांग्रेसमा प्रवेश, राणाद्वारा भव्य स्वागत
काठमाडौं । शक्तिशाली र लोकप्रिय नेता नेपाली कांग्रेसमा प्रवेश गरेपछि एमालेलाई ललितपुर–१ मा ठूलो धक्का लागेको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा गोदवारी नगरपालिका–३ मा एमालेबाट विजयी भएका बालमुकुन्द घिमिरे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेसका केन्द्रीय सदस्य एवम् ललितपुर–१ का उम्मेदवार उदयशम्शेर राणाले पार्टीमा स्वागत गरेका हुन् ।
एमालेका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको घर रहेको वडा कै नेता घिमिरे कांग्रेसमा प्रवेश गरेपछि एमालेमा खैलाबैला भएको छ ।
घिमिरेले एमालेले विगतमा गरेका प्रतिवद्धताहरू बिर्सिएकाले आफू कांग्रेसमा प्रवेश गरेको जनाएका छन् ।
घिमिरे कानून व्यवसायी पनि हुन् । उनले ३ वटा विषयमा स्नातकोत्तर गरेका छन् ।
घिमिरे २ पटक एमालेको जिल्ला सचिवालय सदस्य समेत भएका थिए ।
कांग्रेस नेता राणाले घिमिरेलाई कांग्रेसमा उचित जिम्मेवारी दिने बताएका छन् ।
घिमिरेले लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारलाई जिताउन अपील पनि गरेका छन् ।
कांग्रेस प्रवेश गरेका नेता घिमिरे गोदावरीमा भएको चुनावी कार्यक्रम र घरदैलो अभियानमा सक्रिय भएर लागेका छन् ।
५ दलीय गठबन्धनका उम्मेदवार एवम् कांग्रेस नेता राणाले यसपटक आफूले जित्नेमा ढुक्क छन् ।
२०७० सालमा निर्वाचित भएपछि सुरु गरेका कामहरू पूरा गर्ने नेता राणाले बताएका छन् ।
दक्षिण ललितपुरको विकासका लागि आफ्नो ध्यान केन्द्रित हुने पनि नेता राणाको भनाई रहेको छ ।
ललितपुर–१ मा ३० वटा वडा पर्छन् । कांग्रेसले २२ वडा जितेको छ । माओवादी केन्द्रले ५ वटामा जित निकालेको छ । एमालेले ३ वटा वडामात्रै जितेको छ ।
कांग्रेसका वडाध्यक्षहरूले २३ हजार ८ सय ५४, एमालेले १८ हजार ९९३ र माओवादी केन्द्रले ६ हजार १३३ मत पाएका छन् ।
ललितपुर–१ मा लोकतान्त्रिक–वाम गठबन्धन १० हजार मतले अगाडि रहेको छ ।
ललितपुर–१ मा प्रतिनिधि सभातर्फ कांग्रेस नेता राणाको उम्मेदवारी छ । प्रदेश सभातर्फ १ मा माओवादी केन्द्रका नेता हरि दाहाल र २ मा कांग्रेसका नेता मीनकृष्ण महर्जनको उम्मेदवारी छ । उनीहरूलाई सत्तागठबन्धन दलको समर्थन छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया