काठमाडौं–५ मा प्रदीप, भैरव र श्यामलाई जिताउन सत्तागठबन्धनको आह्वान

काठमाडौं । सत्तागठबन्धनका नेताहरूले काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका उम्मेदवारहरूाई मतदान गरेर निर्वाचित गराउन आह्वान गरेका छन् ।

आइतबार नेताहरूले संयुक्त विज्ञप्ति जारी गरेर प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिएका कांग्रेसका उम्मेदवारहरूलाई मतदान गर्न आह्वान गरेका हुन् ।

‘राष्ट्रियता र लोकतन्त्रको आधार विन्दुबाट जातीय, भाषिक, साँस्कृतिक विविधताको संरक्षण गर्दै जनताको नैसर्गिक अधिकार रक्षा गर्न, लोकतान्त्रिक गठबन्धनको आगामी सरकार निर्माण गर्न काठमाडौं निर्वाचन क्षेत्र नं.५ का मतदाताहरूलाई गठबन्धनमा रहेका नेपाली कांग्रेसका उम्मेदवारहरूलाई मतदान गरी निर्वाचित गराउनु हुन हार्दिक आह्वान गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति जारी गर्नेमा कांग्रेसका क्षेत्रीय उप–सभापति एवम् निर्वाचन परिचालन मूल समितिका संयोजक रमेश डंगोल, माओवादी केन्द्रकी केन्द्रीय सदस्य कल्पना शर्मा, नेकपा (एकीकृत समाजवादी)का क्षेत्रीय संयोजक रामकृष्ण सेढाइँ र राष्ट्रिय जनमोर्चा काठमाडौं क्षेत्र नं. ५ का संयोजक छविबहादुर खनाल रहेका छन् ।

काठमाडौं क्षेत्र नं. ५ मा कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् । प्रदेश सभातर्फ १ मा भैरव सापकोटा र २ मा श्यामबहादुर खड्का उम्मेदवार बनेका छन् ।

Published : Sunday, 2022 November 6, 5:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया