गगनले शेखर समूहलाई सबक सिकाए, राम्रालाई होइन आफ्नालाई ४० प्रतिशत भाग माग

काठमाडौं । कम्युनिस्ट र मधेश केन्द्रित दलहरूलाई पराजित गर्न मिलेर निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने बेला नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले राम्रालाई भन्दा आफ्नालाई टिकट चाहियोभन्दै उत्पात मच्चाउन थालेको छ ।

१४औं महाधिवेशनमा भागभण्डा र ६०÷४० को राजनीति अन्त्यको नारा दिएर सभापतिसहितका पदहरूमा प्यानल बनाएर भोट मागेको शेखर समूहले निर्वाचनको मुखमा अहिले पुनः भाग खोजेको छ । शेखर समूहले कांग्रेस सभापति शेरबहादुर देउवासँग ४० प्रतिशत भाग माग गरेको छ ।

शनिबार काठमाडौंको ठमेलको एउटा होटेलमा शेखर समूहको गुटको बैठकमा ४० प्रतिशत भाग माग गर्ने निर्णय गरेको नेता गुरुराज घिमिरेले पत्रकारहरूलाई बताएका छन् ।

शेखर समूहले कांग्रेसका राम्रा नेताहरूलाई भन्दा पनि आफ्ना गुटका नेताहरूका लागि सभापति देउवासँग ४० प्रतिशत भाग मागेर रडाको मच्चाएको छ ।

शेखर समूहले सभापति देउवाको बैठकमा आलोचना गरेको छ । महाधिवेशनमा भोट नहालेकै आधारमा आफूहरूले टिकट नपाउने र अन्याय हुने अवस्था भए विद्रोह गर्ने चेतावनी शेखर समूहले दिएको छ ।

गुटको बैठकमा नेता शेखर कोइराला, उप–सभापति धनराज गुरुङ, सह–महामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, नेता गुरुराज घिमिरेलगायतका नेताहरू सहभागी थिए ।

शेखर समूहको गुटको बैठकमा महामन्त्री गगन थापा भने उपस्थित भएनन् । निर्वाचनका बेला शेखर समूहको गुटको बैठकमा नगएर गगनले पार्टी एकताको सन्देश दिएका छन् । दुश्मनहरूसँग लड्नका लागि मिलेर जानुपर्ने सन्देश गगनको रहेको छ ।

सभापति देउवाले कोइराला समूहको प्रभाव भएका क्षेत्र गठबन्धनका अन्य दललाई दिने गरी षड्यन्त्र हुने सम्भावना बढेपछि त्यसका लागि दवाव दिनेबारे छलफल भएको नेता घिमिरेले बताएका छन् । जहाँ कोइराला समूहको पकड छ, त्यस्ता ठाउँमा गठबन्धन गरेर अन्य दललाई सिट छोडिदिने षड्यन्त्र भइरहेको आरोप शेखर समूहको छ । (फाइल तस्बिर)

Published : Saturday, 2022 September 17, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया