ओलीसहितका एमालेका नेताहरूद्वारा महँगो ब्राण्डेड जुत्ता र ट्रयाकसुट लगाए काठमाडौंमा प्रदर्शन

काठमाडौं । महँगा र ब्राण्डेड ट्रयाकसुट, जुत्ता, ज्याकेटसहित एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसहितका नेता कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

शनिबार काठमाडौंका विभिन्न स्थानबाट अध्यक्ष ओलीको नेतृत्वमा एमालेका नेता कार्यकर्ताले सडकमा प्रदर्शन गरेका हुन् ।

ओलीसहितका नेताहरूले एडिडास ब्राण्डका जुत्ता, क्याप, कपडाहरू लगाएका थिए । एडिडास कम्पनीका सामग्रीहरू महँगो मानिन्छन् ।

ओलीको नेतृत्वमा संविधान दिवसको उपलक्ष्यमा प्रदर्शन गरिएको छ ।

दुई चोटी संसद भङ्ग गरेर मजाक गरेका ओलीले असोज १ गते संविधान दिवस मनाएर जनतालाई भ्रम छरेको आरोप लागेको छ ।

एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा काठमाडौंमा पदयात्रा गरेको जनाएको छ ।

नयाँ बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र कुपण्डोल गरी पाँच ठाउँबाट बिहान ७ बजे एमालेले पदयात्रा निकालेको थियो ।

सात दशक लामो संघर्ष र त्यसबाट प्राप्त सफलता, सफलताको संश्लेषण, संविधान र लोकतान्त्रिक गणतन्त्रभन्ने नाराका साथ एमालेले पदयात्रा गरेको छ ।

कार्यक्रममा एमालेका नेता कार्यकर्ताले नेपालको नक्सा, पार्टीको झण्डा र राष्ट्रिय झण्डा रहेको लोगो लगाएका थिए । ओलीले नयाँ बानेश्वरबाट पदयात्राको नेतृत्व गरेका थिए ।

लैनचौरबाट पदयात्राको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मैतीदेवीमा उपाध्यक्षद्वय रामबहादुर थापा र सुवास नेम्वाङ, कुपण्डोलबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल तथा कालीमाटीबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेतृत्व गरेका थिए ।

पाँच स्थानबाट शुरु भएको पदयात्रा शहीदगेट हुँदै बसन्तपुर पुगेको छ । पदयात्रालाई ओलीले बसन्तपुरमा सम्बोधन गरेका छन् ।

संविधान सभाबाट २०७२ साल असोज ३ गते ‘नेपालको संविधान–२०७२’ जारी भएको थियो ।

Published : Saturday, 2022 September 17, 1:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया