कांग्रेसका चिरिबाबु बचे, बालेनसहितका मेयरहरू जरिवानामा परे

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं, पोखरा, विराटनगर, चितवन, पोखरा र वीरगञ्जका मेयरहरूलाई जरिवाना तिराउने निर्णय गरेको छ ।

महानगरपालिकाका मेयरहरूले चुनावी खर्च विवरण समयमा नबुझाएको आयोगले जनाएको छ ।

आयोगले काठमाडौं, पोखरा, विराटनगर, चितवन, पोखरा र वीरगञ्ज महानगरपालिकाका मेयरलाई साढे सात लाख रूपियाँ जरिवाना तिराउने निर्णय गरेको छ ।

जरिवानामा पर्ने मेयरहरूमा काठमाडौंका मेयर बालेन्द्र शाह ‘बालेन’, पोखराका मेयर धनराज आचार्य, चितवनकी मेयर रेनु दाहाल र वीरगञ्जका मेयर राजेशमान सिंह रहेका छन् ।

धरान उप–महानगरपालिकाका मेयर हर्कराज साम्पाङलाई आयोगले साढे पाँच लाख रूपियाँ जरिवाना तोकेको छ ।

चुनावी परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण नबुझाएपछि आयोगले जरिवाना तोकेको छ ।

आयोगले ७ हजार पानामा जरिवाना तिर्नुपर्नेहरूको सूची तयार पारेको छ ।

उनीहरूसहित १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई कारबाही गर्ने निर्णय आयोगको छ ।

पराजित भएकाहरूको हकमा जरिवाना नतिरे उम्मेदवार बन्न पाउँदैनन् ।

विजयी भएकाहरूले ६ महिनाभित्र जरिवाना नतिरे उनीहरूको पद जाने कानूनी व्यवस्था छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मात्रै समयमा निर्वाचनको खर्च विवरण बुझाएको आयोगले जनाएको छ । कांग्रेसका नेता समेत रहेका महर्जनले समयमा विवरण बुझाएर जरिवानाबाट बचेका छन् ।

Published : Friday, 2022 September 16, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया