पलले एउटामा सफाइ पाए, अर्कोमा पाएनन्, तनहुँमा सिङ्गै बाँकी

काठमाडौं । नायक पूर्णविक्रम शाह ‘पल’ले नाबालिग बलात्कार अभियोगबाट सफाइ पाए पनि बाल यौन दुरूपयोग कैद र जरिवाना पाएका छन् ।

मंगलबार जिल्ला अदालत नवलपुरका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले पललाई बलात्कार आरोपबाट सफाइ दिए पनि बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र १० लाख क्षतिपूर्ति फैसला भएको नवलपुर अदालतका स्रेस्तेदार महेन्द्रप्रसाद पौड्यालले बताएका छन् ।

पौड्यालले पलले बलात्कार अभियोगबाट सफाइ पाएको बताए । बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय फैसला भएको उनले बताएका छन् ।

जिल्ला अदालत नवलपुरबाट सो फैसला भए पनि तनहुँ जिल्ला अदालतमा नाबालिग बलात्कार मुद्दा विचाराधीन छ ।

पीडित भनिएकी नाबालिकाको तर्फबाट सरकारी वकिल डालबहादुर नेपाली, कमलराज पन्थी र बुद्धबहादुर थापाले बहस गरेका थिए ।

पलका तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन काफ्लेसहित ७ जनाले बहस गरेका छन् ।

पलले सुटिङका क्रममा तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै गायिका समेत रहेकी मोडल नाबालिकाले उजुरी दिएकी थिइन् ।

तनहुँ प्रहरीमा गत फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते उनका बुवाले उजुरी दिएका थिए ।

प्रहरीले नाबालिग बलात्कार अभियोग दर्ता गरेपछि तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तनहुँ र नवलपुर दुवै जिल्ला अदालतमा गत वैशाखमा बकपत्र गर्दा पीडित नाबालिग र उनका बुवाले बयान फेरेका थिए । बकपत्रमा नाबालिगले आफूमाथि बलात्कार नभएको बताएकी थिइन् ।

Published : Tuesday, 2022 September 6, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया