चाकडीको राजनीतिले कम्युनिस्ट हराउन सकिँदैन, कांग्रेस जिताउन मिलेर अगाडि बढौं : युवा नेता मगर

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दल बागलुङका कोषाध्यक्ष देवेन्द्र घर्ती मगरले कम्युनिस्टलाई हराउने हो भने चाकडीका राजनीति अन्त्य हुनुपर्ने बताएका छन् ।

सोमबार प्रेस नोट जारी गरेर कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका नेता मगरले व्यक्तिगत स्वार्थका लागि चाकडीको राजनीति अन्त्य हुनुपर्ने बताए ।

बागलुङको क्षेत्र नं. २ को ‘ख’बाट प्रत्यक्षको टिकटमा सिफारिस भएका युवा नेता मगरले चुनाव चिन्ह ‘रुख’मा मतदान गरेर कांग्रेसलाई जिताउनुपर्ने बताए । उनले कांग्रेसमा यस पटक अन्तरघातीहरूलाई निगरानी गर्नुपर्ने बताएका छन् ।

‘कुनै ठूलो नेताको नाम लिएर चाकडी गर्ने परम्परा अन्त्य हुनुपर्छ । त्यसपछि कांग्रेस आफै बलियो बनेर जान्छ’, उनले भने, ‘मंसिर ४ गतेको चुनावलाई कांग्रेस र ५ दलीय गठबन्धनका उम्मेदवारहरूलाई जिताउनेतर्फ केन्द्रित हुनुपर्छ ।’

कांग्रेसलाई जिताउने ठेक्का पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई मात्रै नरहेको उनले बताए । ‘सभापति शेरबहादुर देउवाज्यूले नेतृत्व गर्ने हो । हामीलाई निर्देशन दिने हो’, उनले भने, ‘कांग्रेसलाई जिताउने हामीले हो ।’

नेता मगरले कांग्रेसले यस पटक युवाहरूलाई टिकट दिएर कम्युनिस्टहरूलाई पराजित गर्ने रणनीति बनाउनुपर्ने सुझाव पनि दिएका छन् ।

अहँकारी एमालेलाई स्थानीय तहको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनले बागलुङमा साइजमा ल्याएको बताएका नेता मगरले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि रणनैतिक योजना बनाएर जानुपर्ने बताए ।

बागलुङमा गठबन्धन भयो भने जिल्लाका शीर्ष नेताहरू रहेको मोनिटरिङ समिति बनाउन उनको सुझाव छ । सोही समितिले नेता कार्यकर्तालाई परिचालन गर्नुपर्ने बताएका छन् ।

Published : Monday, 2022 September 5, 11:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया