कांग्रेस नेता लेखकद्वारा आफैले राखेको महाकाली कोरिडोर योजनाको अवलोकन

बैतडी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले निर्माणाधीन महाकाली कोरिडोरको स्थलगत अवलोकन गरेका छन् ।

सोमबार ‘जनताका साथमा कांग्रेस’ अभियानका लागि केन्द्रीय प्रतिनिधि भएर विभिन्न कार्यक्रममा सहभागी हुन बैतडी आएका नेता लेखकले कञ्चनपुरदेखि दार्चुलासम्मको ४१३ किलोमिटर लामो महाकाली कोरिडोरको बैतडीको तल्लो स्वराडमा खण्डको स्थलगत अध्ययन गरेको उनका निजी सचिव जनक भट्टले जानकारी दिए । तल्लो स्वराडमा ५७ किलोमिटर खण्ड बैतडीमा पर्छ ।

नेता लेखकले पश्चेश्वरका स्थानीय वासिन्दासँग कोरिडोरका विषयमा छलफल गरेका थिए ।

पाँच वर्ष पहिले आफू भौतिक तथा पूर्वाधार विकास मन्त्री भएका बेला महाकाली कोरिडोरका लागि आवश्यक बजेट विनियोजन गरेर ठेक्का लगाएको जानकारी गराउँदै लेखकले महाकाली कोरिडोर सम्पन्न भएपछि यस क्षेत्रका बासिन्दाको आर्थिक प्रगति हुने बताए ।

उनले भने, ‘कञ्चनपुरको दोधरा चादँनीबाट शुरु हुने ४१३ किलोमिटर महाकाली कोरिडोरले डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको टिंकरसम्म जोड्ने भएकाले यसको निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाको आर्थिक अवस्थामा प्रगति हुन्छ ।

पञ्चेश्वरका स्थानीयवासीले महाकाली नदीमा झोलुंगे पुल आवश्यक रहेकाले त्यसकालागि पहल गरिदिन नेता लेखकसँग आग्रह गरेका थिए ।

स्थानीय बासिन्दाको माग अनुसार झोलुंगे पुल बनाउनका लागि आफूले पहल गर्ने लेखकले बताएका छन् ।

पञ्चेश्वर लगायत तल्लो स्वराडका अधिकांश कञ्चनपुरको दोधरा चादँनी क्षेत्रमा बसाइँ–सराई गरेर बस्ने गरेको बताउँदै उनीहरूले आउँदो निर्वाचनमा नेता लेखकलाई निर्वाचित गराउन आफूहरूले पूर्ण सहयोग गर्ने बताएका छन् ।

नेता लेखकको निर्वाचन क्षेत्र कञ्चनपुरको क्षेत्र नम्बर ३ हो । यो क्षेत्रमै महाकाली नगरपालिका अन्तरगत दोधरा र चादँनी पर्छ जहाँ पश्चेश्वर लगायत बैतडीको तल्लो स्वराडका बासिन्दा बसाइँ–सराई गरेर त्यहाँ बसोबास गरिरहेका छन ।

नेता लेखकले पञ्चेश्वर परियोजना स्थलको ड्यामसाइटको पनि स्थलगत अवलोकन गरेका छन् ।

Published : Monday, 2022 September 5, 8:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया