नेपाली सेनाद्वारा भारतीय जनरल पांडेलाई काठमाडौंमा भव्य स्वागत
काठमाडौं । नेपाली सेनाले भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडेलाई भव्य स्वागत गरेको छ ।
प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका सेनाध्यक्ष जनरल पांडेलाई स्वागत र सम्मान गरिएको सेनाद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
शीतल निवासमा राष्ट्रपतिद्वारा भारतीय स्थल सेनाध्यक्ष जनरल पांडेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
सो कार्यक्रममा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, मुख्यसचिव शंकरदास बैरागी, प्रधान सेनापति महारथी शर्मा, रक्षासचिव किरणराज शर्मा, परराष्ट्रसचिव भरतराज पौड्याल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो ।
नेपाल–भारतबीचको अनुपम साँस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्धका साथै मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरुप दशकौंदेखि नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहि आएको छ ।
भारतीय स्थल सेनाध्यक्ष जनरल पांडेले सोमबार बिहान टुँडिखेलस्थित सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
पांडेले जङ्गी अड्डामा सलामी ग्रहण गर्नुका साथै गारत निरीक्षण गरेका छन् । उनले जङ्गी अड्डा प्राङ्गणमा वृक्षारोपण समेत गरेका छन् ।
प्रधान सेनापति शर्मा र जनरल पांडेबीच शिष्टाचार भेटवार्ता पनि भएको छ ।
भेटवार्ताका क्रममा दुई देशका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।
जङ्गी अड्डामै आयोजित कार्यक्रममा जनरल पांडेले नेपाली सेनालाई नेपाल–भारत बाइल्याटरल कन्सल्टेटिभ अन सेक्युरिटी ईस्यूको यूनिफर्म मेथड अफ पेमेन्ट मोडालिटीअनुसार कुल २२ करोड ३८ लाख ३८ हजार ३ सय १० रुपियाँ बराबरको मेडिकल ईक्वीपमेन्ट, मेन प्रोटेक्टिभ भेहिकल, होर्स, मेन्टिनेन्स एण्ड स्पेयर्स ईक्वीपमेन्ट लगायतका सामग्रीहरू हस्तान्तरण गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रधान सेनापति शर्माले जनरल पांडेको सम्मानमा सोमबार साँझ जङ्गी अड्डामा रात्रिभोजको आयोजना समेत गरेका छन् ।








बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया