प्रविधिमार्फत हुने अपराध नियन्त्रणमा प्रहरी स्वयम् प्रविधिमैत्री हुनुपर्छ : आईजीपी सिंह
विराटनगर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले प्रविधिको प्रयोगमार्फत् हुने अपराधहरू बढिरहेको बताएका छन् ।
बिहीबार १ नं. प्रदेशको विराटनगरमा आयोजित सुरक्षा गोष्ठिलाई सम्बोधन गर्दै आईजीपी सिंहले प्रविधिमार्फत हुने अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरी स्वयम् प्रविधिमैत्री हुनुको विकल्प नरहेको बताए ।
अपराध अनुसन्धानका मुख्य खम्बा अनुसन्धान, अभियोजन र न्याय निरुपणबीच आपसमा समन्वय र सहकार्य भएमा मात्र पीडितले न्याय र वास्तविक पीडकले सजाय पाउने उल्लेख गरेका छन् ।
सिंहले अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने प्रहरी कर्मचारीहरूले अझ बढी संवेदनशील भई पारदर्शी रुपमा काम गर्नुपर्ने बताएका छन् ।
१ नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा संयुक्त रूपमा आयोजित १ नम्बर प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ विराटनगरमा बिहिबार सम्पन्न भएको छ ।
१ नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले आपराधिक प्रवृत्तिमा परिवर्तन हुँदै गइरहेको बताए । उनले अनुसन्धान अधिकृतको क्षमता विकास एवं प्रविधिमूलक अनुसन्धानका निमित्त स्रोत साधनको व्यवस्थापनका लागि प्रदेश मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताए ।
अपराध अनुसन्धानको क्षेत्रमा प्रदेश सरकारले जुनसुकै प्रकारको सहयोग गर्ने उनले बताएका छन् ।
प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले अपराध अनुसन्धानमा प्रहरीले गरेका कार्यहरू प्रशंसायोग्य रहेको बताएका छन् । उनले अपराध अनुसन्धान र नियन्त्रणमा सम्बद्ध सबै निकायहरू उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले अपराध अनुसन्धानमा देखिएका समस्याबारे जानकारी लिने बताए ।
उच्च अदालत बिराटनगरका सह–न्यायाधिवक्ता कोषहरि निरौलाले अपराधको प्रवृत्तिमा भइरहेको परिवर्तनले प्रहरीलाई थप चुनौति थपिएको बताएका छन् ।
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदीप गिरीले धन्यवाद ज्ञापन गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया