वैदेशिक कामदारलाई भारतमा ट्रान्जिट दिन संघको माग, २५ हजारसम्म महँगो लिन थाले हवाई भाडा

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भारतको दिल्लीमा ट्रान्जिट बनाएर रोजगारदाता गन्तव्य मुलुकमा जान दिए २० देखि २५ हजारमा कामदार जान सक्ने जनाएको छ ।

बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र संघका संयोजक विमल ढकालबीच सिंहदरबारमा भएको भेटवार्तामा काठमाडौंदेखि भारतमा ट्रान्जिट बनाएर रोजगारदाता मुलुकमा जाने व्यवस्था गर्नेबारेमा छलफल भएको हो ।
संयोजक ढकालले मन्त्री कुँवरलाई संघको तर्फबाट माग पत्र समेत बुझाएका छन् ।

‘प्राविधिक कारण र भारत हुँदै रोजगारदाता मुलुकमा जाँदा ठगी पर्ने र विचल्ली हुने कारण देखाई भारतको दिल्ली हुँदै रोजगारदाता मुलुकमा जाँदा नेपाल सरकारबाट ‘एनओसी’ देखाउन पर्ने अन्यथा उड्न नपाई व्यवस्थाको कारण हाल पनि दिल्लीबाट उड्न यदाकदा रोकिने गरेको अवस्था छ’, संघले बुझाएको पत्रमा भनिएको छ ।

‘काठमाडौंबाट हवाई मार्ग हुँदै दिल्लीबाट मलेशिया जाँदा अन्य हवाई कम्पनीले १५ देखि १८ हजार भारतीय रुपियाँ उडान गर्दै आएका र एनओसीको सट्टामा विदेश जाँदा स्वीकृतिसहित क्यूआर कोड नै राहदानीमा रहने भएकोले उक्त कोड हेरी स्वीकृति लिइ जाने कामदारर्लाइ हवाई मार्गमार्फत नेपाल हुँदै रोजगारदाता गन्तव्य मुलुकमा दिल्लीबाट उडान गर्न दिएमा झण्डै आधाभन्दा कम रकम २०/२५ हजारमा कामदार जान सक्ने र लागत कम भै रोजगारदाता कम्पनीले अन्य मुलुकभन्दा बढी नेपाली कामदारको माग बढाउन सक्ने भएकाले यस मन्त्रालयमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमेतको समन्वयमा परराष्ट्र मन्त्रालय समेतबाट कुटनैतिक पहलमार्फत समन्वय गरी वैदेशिक रोजगारमा जाने कामदारले क्यूआर कोडसहितको स्वीकृतिका आधारमा काठमाडौंदेखि भारतमा ट्रान्जिट हुँदै रोजगारदाता मुलुकमा जाने व्यवस्था गरी पाउँन सादर अनुरोध गर्दछौं’, संयोजक ढकालले पत्रमा उल्लेख गरेका छन् ।

संघले भनेको छ, ‘२०७२ बाट थला परेको वैदेशिक रोजगार व्यवसायमा केही महिनाअघिबाट लयमा फर्कन लागेकोमा शून्य लागतमा लैजान नसकेको अवस्था एकातर्फ छभने स्वास्थ्य परीक्षण, अभिमुखीकरण र हवाई टिकटको एकाधिकारसहित मनपर्दी चर्को भाडा वृद्धिका कारण झनै समस्या थपिँदा व्यवसाय गर्न गाह्रो भएको छ ।’

वैदेशिक रोजगारको आकर्षक गन्तव्य मलेसिया मुलुकमा जाने हवाई भाडा विगत केही महिनाको तुलनामा दोब्बर वृद्धि गरी हाल करीव ६० हजार को हाराहारीमा पुर्‍याएको संघका संयोजक ढकालले बताएका छन् ।

‘नेपाल वायुसेवा निगम र हिमालयन एयरलाईन्स मात्र नेपालबाट सिधा उडान गर्ने हवाई सेवा प्रदायक छन्’, उनले भने, ‘त्यसरी नै अन्य रोजगारदाता मुलुकको हवाई भाडा पनि अचाक्ली रुपमा वृद्धि गरिएको छ ।’

‘यी दुई वटा संस्था र ट्राभल एजेन्सीको मिलिभगतमा बिना आधार, कारण दिनदिनै भाडा वृद्धि गरिँदै जाने कामदार, शून्य लागतमा लाने रोजगारदाता र व्यवसायी समेतलाई गम्भीर असर परिरहेको छ’, मन्त्री कुँवरलाई संयोजक ढकालद्वारा बुझाइएका पत्रमा उल्लेख छ ।

Published : Thursday, 2022 August 18, 3:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया