आईजीपी सिंह आएपछि धमाधम भौतिक संरचना बन्न थाले, सचिवालयको बजेट काटेर जवानलाई ब्यारेक

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षकको सचिवालयका लागि छुट्याइएको बजेटबाट प्रहरी प्रधान कार्यालयले तल्लो तहका प्रहरीका लागि ब्यारेक बनाउने तयारी गरेको छ ।

सचिवालय निर्माणका लागि छुट्याइएको रकमलाई कार्यक्रम संशोधन गरी जवानदेखि वरिष्ठ हवल्दारसम्म १०० जना बस्न मिल्ने ब्यारेक निर्माण गर्न लागिएको हो ।

तल्लो तहका प्रहरीको सुविधालाई ध्यानमा राखेर कार्यक्रम संशोधन गरी ब्यारेक बनाउन लागिएको प्रहरी प्रवक्ता डीआइजी टेकप्रसाद राईले बताएका छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले तल्लो तहका प्रहरीको सुविधामा विशेष जोड दिएका छन् ।

भौतिक पूर्वाधार तथा कर्मचारीको सेवा सुविधातर्फ पछिल्लो समय प्रहरीमा प्रगति भइरहेको छ । कैलालीमा प्रहरी अस्पतालको शाखा स्थापना भएको छ । अस्पतालमा सुदूरपश्चिमका प्रहरी तथा पूर्व प्रहरीले निःशुल्क उपचार पाउनेछन् ।

चितवनको प्रहरी स्कुलमा छात्रावास भवन निर्माणको काम अघि बढेको छ । वर्षाैदेखि बन्द रहेको नेपाल प्रहरी क्लब पुनःनिर्माणपछि सुचारु भएको छ ।

त्रिपरेश्वरमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणको अत्याधुनिक भवन बनेको छ । साँगास्थित प्रहरी स्कुलमा पनि नयाँ भवनहरू निर्माण भएका छन् ।

काठमाडौं परिसर र उपत्यकाका अपराध अनुसन्धान कार्यालयको भवन निर्माणको काम अन्तिम चरणमा छ । २६ वर्षको प्रयासपछि काभ्रेको पनौतीमा प्रहरी निर्माणको काम अघि बढेको छ । साइबर ब्यूरोको भवन निर्माणका लागि पनि कोरिया सरकारले सहयोग गर्ने सहमति भइसकेको छ ।

सुस्त गतिमा भएपनि पछिल्ला वर्ष प्रहरीले भौतिक निर्माणमा प्रगति गरेको छ । सिंहले आईजीपीको कमाण्ड सम्हाल्नेवित्तिकै प्रहरीभित्र सुधारका साथै भौतिक संरचनाका कामहरू तीब्रगतिमा अगाडि बढेका छन् ।

Published : Wednesday, 2022 August 17, 11:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया